logo
२०८० चैत्र १५ बिहीवार



अनिश्चित बन्दै मेलम्ची आयोजना, दशैं, तिहार अगाडि पानी ल्याउन नसकिने

खुला |


अनिश्चित बन्दै मेलम्ची आयोजना, दशैं, तिहार अगाडि पानी ल्याउन नसकिने


मुकुन्द गैरे
काठमाडौं, साउन १४ गते । मेलम्चीको पानी काठमाडौं ल्याउन अनिश्चित देखिएको छ । आयोजनाको हेड बक्ससम्म पुग्नको लागि आवश्यक पर्ने सडक र पुल बनाउन समय लाग्ने भएको छ । बाटो र पुल नबनेको अवस्थासम्म आयोजनालाई चाहिने उपकरण, सामान लैजान नसकिने भएकाले काम अगाडि बढाउन नसकिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताउनुभयो ।

बिग्रिएको बाटो र अस्थायी पुल बनाउन छलफल भए पनि काम अगाडि बढ्न नसकेको प्रवक्ता पन्तले बताउनुभयो । अहिलेको अवस्थालाई हेर्दा दशैं, तिहारसम्म काठमाडौंमा पानी ल्याउन नसकिने अवस्था रहेको समितिको भनाइ छ । असोज, कार्तिकसम्म बाटो र अस्थायी पुल बनेको अवस्थामा त्यसपछि सामान लगेर काम सुरु गर्न सकिने छ ।

गाडी पुग्ने बाटो बनेपछि तीनदेखि चार महिनासम्ममा पानी ल्याउन सकिन्छ भन्ने अनुमान रहेको उहाँले बताउनुभयो । अहिले पनि पानी पर्ने र बाढी र पहिरो जाने खतरा नहटेकाले आयोजनाको काम गर्न अन्यौल देखिएको छ । हेडबक्स बनाएको निर्माण कम्पनीसँग बाटो पुगेको अवस्थामा कति दिनमा काम सम्पन्न गर्न सकिन्छ भनेर उहाँहरुसँग कुराकानी गरिसकेको समेत उहाँले जानकारी दिनुभयो ।

विभाग र नेपाली सेनाको सहयोगमा बाटो र पुल बनाउन सहयोग लिने विषयमा छलफल भए पनि माथिल्लो तहबाटै निर्णयसँगै बजेटको पनि व्यवस्थापन गर्नु अवस्था रहेकाले समय लाग्ने देखिएको हो । मेलम्ची बजारदेखि मेलम्चीको हेडवर्कस् रहेको ठाउँसम्म पुग्ने बाटो बनाउने काम हेलम्बु गाउँपालिकाको एक र दुई वडा कार्यालयसँगको समन्वयमा बाटो खोल्ने काम गरे पनि थोरै थोरै मात्रका काम अगाडि बढेको प्रवक्ता पन्त बताउनुहुन्छ । छिटो खोल्न एक्लै आयोजनाले मात्र सक्ने अवस्था छैन ।

बाटो बनेपछि सामान राख्ने ठाउँसँगै मानिस बस्ने संरचना समेत बनाउनु हुन्छ ।त्यसपछि, प्राविधिक टोलीसँगै कामदारहरुले काम अगाडि बढाउने छन् । हेडबक्समा तीनदेखि चार लाख घन मिटर बालुवा माटो थुपिएको आयोजनाको अनुमान गरे पनि पुरिएको ठाउँमा खोलेर नहेरिकन अहिले नै भन्न नसकिने अवस्था रहेको पन्त बताउनुहुन्छ ।

हेडबक्ससम्म पुग्न पाँच वटा पुलको आवश्यकता पर्छ भने करिव पाँच किलो मिटर बाढीले पुरिदिएको सडक खोल्नुपर्ने आवश्यक छ । आयोजनाको अस्थायी संरचनामा क्षति पु–याएको भए तापनि मुख्य सुरुङलगायत स्थायी संरचनामा असर नगरेका कारण ठूलो क्षति हुनबाट जोखिएको छ ।

बाटो अगाडि बढाउन डोजरको सहायताले बाटो सफा गर्दै जानु पर्ने हुन्छ । बाढीले पुरिदिएको आयोजनामा प्राविधिक टोलीले हेरे पनि एकिन क्षति थाहा पाउन पुरिएको ठाउँमा खोलेर मात्रै हेर्नु पर्ने अवस्था रहेको छ ।
पानी ल्याउनको लागि अम्बाथानको टनेल भरिएको बालुवा सफा गर्नुपर्ने हुन्छ । बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवर्क, पुल तथा मुहानको संरचनामा क्षति पु–याएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप