logo
२०८० चैत्र १६ शुक्रवार

 निर्माण सम्पन्न नहुँदै किन भत्कन्छन् पूर्वाधार? 



टुक्रे योजनाले समस्याः विज्ञ, डिजाइनमा समस्याः निर्माण व्यवसायी

पढ्नै पर्ने |


टुक्रे योजनाले समस्याः विज्ञ, डिजाइनमा समस्याः निर्माण व्यवसायी


मुकुन्द गैरे
काठमाडौं, असार ३० गते । नेपालमा मनसुनको समयमा बाढी, पहिरो लगायत अन्य पानीजन्य विपद्का कारण ठूलो जनधनको क्षति हुने गरेको छ । सामान्यतया असारदेखि असोजसम्मको झण्डैं सय दिन मनसुन सक्रिय हुने गर्छ । पछिल्लो समय अनपेक्षित रुपमा बर्षात हुँदा बर्षाैँ समय लगाएर बनाएका भौतिक पूर्वाधारमा समेत बाढी, पहिरोले नोक्सान पु-याउने गरेको छ ।
बर्षात सुरु हुँनै लाग्दा यस बर्ष बर्षाैँ लगाएर सम्पन्न गरेको मेलम्ची खानेपानी आयोजनामा बाढी पहिरोले क्षति भयोे । त्यस वरपर रहका बस्ती र सडक, पुल पनि बगायो । यसै गरी मनाङ जिल्लामा बाढी पहिरोले जनधनको क्षति गरेको छ ।
पूर्वाधार विज्ञहरुले निर्माण भएका, निर्माण हुँदै गरेका र आगामी दिनमा बन्ने भौतिक पूर्वाधार जोगाउन समयमै ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य नेपालमा भौतिक पूर्वाधार निर्माणको गुरु योजना, इन्जिनियरिङ प्रणालीगत समन्वय भन्दा टुक्रे योजनाका कारण समस्या देखिएको बताउनुहुन्छ ।
बाढी र पहिरोको क्षति हुँनेक्रम बढ्दो क्रममा देखिएकोले देशको परिवेश हेरेर डिजाइन संगै निर्माण अगाडि बढाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
बाढी, पहिरो आगामी दिनमा कतिसम्म ठूला आउन सक्ला भनेर पहिला देखिका तथ्याङ्क हेरेर डिजाइन बनाउन अहिलेको आवश्यकता देखिएको आचार्यको जोड छ ।
बाढी आएर पुल बगायो भने इन्जिनियरले ठूलो बाढी आएर पुल भत्कियो भनेर उम्कन नमिल्ने उसले जिम्मेवारी बहन गर्नु पर्ने आगामी दिनमा यसको समीक्षा गर्दै अगाडि बढन सकेको अवस्थामा भौतिक पूर्वाधारमा क्षति कम र गुणस्तरीय बनाउन सकिने पूर्वाधार विज्ञ आचार्य बताउनुहुन्छ ।
प्राकृतिक जोखिम भएको ठाउँमा समग्र प्रणाली इन्जिनियरिङको मापदण्डको समीक्षा र निर्माण गुणस्तरको बलियो संरचना बनाउन सक्नुपर्नेमा उहाँको जोड छ ।
समग्रमा अहिले बनेका सवै डिजाइन गलत छन् भन्ने होइन गलत भएका डिजाइन मापदण्ड पूनरवलोकन गर्नुपर्छ । नदीबाट बालुवा, गिटी, विना मापदण्ड निकाल्दा पनि बाढी पहिरोको जोखिम बढदै गएको बताइन्छ ।
यस्ता नदी जन्य सामग्री निकाल्दा मापदण्ड बनाएर निकाल्न आवश्यक रहेको डा.आचार्य जोड दिनुहुन्छ ।
नदीबाट धेरै बालुवा निकाल्दा पनि नदीमा प्रभाव पार्छ, निकाल्नुपर्ने ठाउँमा थोरै निकालेमा पनि प्रभाव पार्ने भएकोले बर्षमा कुन नदीबाट कति बालुवा, गिटी निकाल्नुपर्ने हो त्यसको पनि मापदण्ड बनाउनुपर्नेमा उहाँको सुझाव छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंह विपत्तिबाट पूर्वाधारमा हुने क्षति घटाउन पहिलाको भन्दा फरक डिजाइन बनाउन आवश्यक रहेको बताउनुहुन्छ । पुल, सडक, विभिन्न आयोजनाको अध्ययन गर्दा प्राविधिक पक्षलाई ख्याल गर्नुपर्नेमा उहाँको जोड छ ।
नेपालमा आर्थिक र समयको अध्ययन गर्न चलन नभएको कारणले लामो समयसम्म आयोजनाको काम सम्पन्न हुन नसक्दा पनि बीचैमा अलपत्र पर्ने गरेको बनेका पनि गुस्तरीय हुन नसक्ने गरेका छन् ।
साथै भौगोलिक अध्ययन अनुसार पूर्वाधार निर्माण गरिएको अवस्थामा आगामी दिनमा आउने मनसुन जन्य विपद्बाट भौतिक संरचना जोगाउन सकिने अध्यक्ष सिंह बताउनुहुन्छ ।
नेपालमा बनेका सडक र पुलहरुमा क्षमताभन्दा बढी गाडी चलाउन दिँदा पनि पुल सडक छोटो समयमा बिग्रिने गरेका छन् । विना इन्जिनियरिङ अध्ययन विना बाटो खन्ने काम बन्द गर्नुपर्ने आवश्यक छ । साथै असारदेखि असोजसम्म निर्माणको काम बन्द गर्नुपर्नेमा अध्यक्ष सिंहको जोड छ ।
सडक विभागका महानिर्देशक अर्जुन थापा यस बर्ष मनसुन सुरु भएपछि बाढी पहिरोको कारण देशैभरिका पुल, सडकमा एक अर्वको क्षति भएको बताउनुहुन्छ ।
संसारकै कठिन भूमि नेपाल भएको कारणले पनि बाढी पहिरोका कारण क्षति हुने गरेको उहाँ बताउनुहुन्छ ।
यस्ता किसिमका विपत्ति नेपालमा मात्रै नभएर अरु देशमा पनि हुँने गरेकोले आगामी दिनमा भौतिक पूर्वाधार क्षेत्रमा हुने क्षति कम गर्न सरकार लागिपरेको महानिर्देशक थापा बताउनुहुन्छ ।
नेपालमा बनाएको डिजाइनबाट बनेको पुल, सडक बर्षौ टिकिरहेका छन् केही अपवादको रुपमा भत्किने गरेको पाइए पनि समग्रमा बाहिर समाचार आए जस्तो त्यस्तो नरहेको उहाँको भनाइ छ ।
कठिन भूगोलमा टनेल बनाउन सकिएको अवस्थामा भौतिक क्षति कम हुने भए तापनि सवै ठाउँमा लागतका हिसावले टनेल बनाउन सकिने अवस्था अहिले नरहेको महानिर्देशक थापा बताउनुहुन्छ ।
अहिलेको बर्षातले मेलम्ची र मनाङ पाँच, पाँच वटा पुलमा क्षति गरेको छ भने अन्य केही ठाउँमा पनि क्षति गरेको विभागको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप