logo
२०८१ बैशाख ५ बुधवार


  तल्लाे अरुण जलविद्युत् आयोजना   



सम्भाव्यता अध्ययन गर्न समझदारी

मुख्य समाचार |


सम्भाव्यता अध्ययन गर्न समझदारी


गोपालचन्द्र सुवेदी

काठमाडौँ, असार २८ गते । पूर्वी नेपालको आकर्षक परियोजना तल्लाे अरुण जलविद्युत् आयोजना निर्माण गर्न भारतीय कम्पनी सतलज जलविद्युत् निगमलाई सर्वेक्षण अनुमति दिइएको छ । सङ्खुवासभा र भोजपुरको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदनका लागि सर्वेक्षण गर्न लगानी बोर्ड नेपाल र एसजेभीएन (इन्डिया)सँग आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा लगानी बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र विकासकर्ता कम्पनीका तर्फबाट एसजेभीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले हस्ताक्षर गर्नुभयो । बोर्डले अर्धजलाशययुक्त सो परियोजना २०७५ चैत १५ मा भएको लगानी सम्मेलनमा लगानीकर्ताबीच प्रस्तुत गरेको थियो । परियोजना विकासका लागि प्राप्त अन्तर्राष्ट्रिय बोलकबोलको प्रस्तावमध्येबाट २०७७ माघमा निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण ढाँचामा विकास गर्न एसजेभीएनको प्रस्ताव स्वीकार गरिएको थियो । आयोजना निर्माणका लागि करिब एक अर्ब १३ करोड अमेरिकी डलर लागत लाग्ने अनुमान छ । समझदारीअनुसार दुई वर्षभित्र एसजेभीएनले विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने छ ।
हस्ताक्षर कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले परियोजनाको निर्माण द्रुत गतिमा अघि बढ्ने विश्वास व्यक्त गर्दै यसका लागि नेपाल सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो । “यस्ता ऊर्जा परियोजनाको विकासले नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहयोग पुग्ने छ”, उहाँले भन्नुभयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले लगानी बोर्ड कार्यालयले गरेको प्रभावकारी सहजीकरणबाट अरुण–३ परियोजनाको कार्यान्वयन सहज भएको बताउँदै तल्लो अरुणमा पनि त्यस्तै सहजीकरण गरिने स्पष्ट पार्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?