logo
२०८० चैत्र १६ शुक्रवार



स्वास्थ्यलाई प्राथमिकता दिन जिल्ला सभापतिहरूको माग

प्रदेश |


स्वास्थ्यलाई प्राथमिकता दिन जिल्ला सभापतिहरूको माग


गण्डकी, असार १ गते । गण्डकी प्रदेशअन्तर्गत नेपाली कांग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गर्नुभएको छ । प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिकरूपमा भेटेर त्यस्तो माग गर्नुभएको हो ।

अहिलेको मुख्य प्राथमिकता कोभिड विरुद्वको खोप भएको हुँदा यसलाई प्राथमिकतामा राख्न जिल्ला सभापतिहरूले अनुरोध गर्नुभएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । खोपसँगै कोभिड प्रभावित क्षेत्रलाई महत्व दिन सभापतिहरूले अनुरोध गर्नुभएको उहाँले बताउनुभयो ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले सुशासन, विपत् व्यवस्थापन, कोरोना सङ्क्रमित, उनीहरूको परिवार र प्रभावित क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन आग्रह गर्नुभयो । कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले संविधान, सङ्घीयता र विकासलाई मुख्य प्राथमिकता दिन आग्रह गर्नुभयो । कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, म्याग्दीका सभापति खमवीर गर्बुजा, स्याङ्जाका सभापति कुमार राना, बाग्लुङका सभापति दीपेन्द्रबहादुर थापा, नवलपुरका सभापति विष्णु लामिछाने र गोरखाका सचिव नन्दु न्यौपानेले कोरोना महामारी अहिलेको प्रमुख समस्या बनेको बताउँदै यसको रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

सो क्रममा सभापतिहरुले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने निर्णयप्रति ध्यानाकर्षण गराउँदा मुख्यमन्त्री पोखरेलले त्यस विषयमा कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो । जिल्ला सभापति र सचिवहरूले जनअपेक्षाअनुसार सरकार अघि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?