logo
२०८० चैत्र १५ बिहीवार



अक्सिजन उद्योग सञ्चालन गर्न आधार दरमै ऋण

अर्थ |


अक्सिजन उद्योग सञ्चालन गर्न आधार दरमै ऋण
अक्सिजन उद्योग


गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ५ गते । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण ह्वात्तै बढेपछि अति आवश्यक बनेको अक्सिजन उत्पादनका लागि लगानी सहायतालाई नेपाल राष्ट्र बैङ्कले उच्च प्राथमिकतामा राखेको छ ।
राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अक्सिजन उत्पादन गर्न चाहने उद्योगी तथा व्यवसायीलाई बैङ्कहरूले आधार दरमै ऋण उपलब्ध गराउने गरी व्यवस्था गरेको छ । केन्द्रीय बैङ्कले समीक्षामार्फत पछिल्ला दिनमा उच्च माग रहेको अक्सिजन उद्योग स्थापनाका लागि सहुलियत दरमा ब्याजदर दिने नीतिगत निर्णय गरेको हो ।
सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक, अस्पताल वा उद्योगहरूलाई तरल अक्सिजन प्लान्ट स्थापनाका लागि ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापनाका लागि २० करोडसम्मको कर्जालाई एक वर्षको विशेष पुनर्कर्जा उपलब्ध गराउने पनि राष्ट्र बैङ्कले जनाएको छ ।

 लिलामी र जरिवाना लिन नपाइने

समीक्षामा गरेको व्यवस्थाअनुसार बैङ्क तथा वित्तीय संस्थाहरूले निषेधाज्ञा अवधिभरमा ग्राहकबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् । निषेधाज्ञा अवधिभरमा ग्राहकबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिइएको छ ।
कोभिड–१९ सङ्क्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैङ्क तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउनेसमेत राष्ट्र बैङ्कको निर्देशन छ ।
सङ्क्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दती निक्षेपको नवीकरण, जमानत तथा प्रतीतपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैङ्क तथा वित्तीय संस्थाले गर्नसक्ने राष्ट्र बैङ्कले जनाएको छ । निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहित गर्न राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

 आर्थिक वृद्धिमा सङ्कुचन

अर्थतन्त्र सुधारतर्फ उन्मुख भइरहेका बेला कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि अनुमानित आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण रहेको राष्ट्र बैङ्कले जनाएको छ । मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैङ्कले नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख दिशामा अघि बढेको भए तापनि कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण नियन्त्रण गर्न धेरै स्थानमा अवलम्बन गर्नुपरेको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नसमेत चुनौतीपूर्ण हुने जनाएको छ ।
पछिल्ला महिनामा आयातको विस्तार हुन थालेकाले शोधनान्तर बचतको मात्रा घट्दै गएको छ तर पुनः बन्दाबन्दीको स्थिति सिर्जना भएकाले स्वास्थ्यजन्य वस्तुबाहेकको आयात प्रभावित हुने देखिएको राष्ट्र बैङ्कले जनाएको छ । फलस्वरूप शोधनान्तर बचत केही कमी हुँदै जानसक्ने सम्भावना रहे पनि चालू आर्थिक वर्षको अन्त्यसम्म विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने अनुमान गरिएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मुद्रास्फीति दर नियन्त्रित अवस्थामा रहे पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुन थालेको, भारतको मूल्य वृद्धि नेपालको भन्दा केही उच्च रहेको र नेपाली रुपियाँ अवमूल्यन हुँदै गएका कारण आगामी दिनमा मुद्रास्फीतिमा केही चाप पर्ने स्थिति रहेको राष्ट्र बैङ्कले जनाएको छ । आन्तरिक माग शिथिल रहेको र आपूर्ति व्यवस्थापन सहज नै रहेकाले चालू आर्थिक वर्षमा मुद्रास्फीति लक्षित सीमाभित्र रहने राष्ट्र बैङ्कले जनाएको छ ।
कोभिड–१९ को पहिलो लहरको प्रभावलाई नियमनकारी नी(ितगत सहजताले गर्दा बैङ्किङ क्षेत्रले व्यवस्थापन गर्न सकेकामा कोभिड–१९ को दोस्रो लहरका कारण अवलम्बन गरिएको बन्दाबन्दीले आर्थिक गतिविधि पुनः प्रभावित भई बैङ्किङ क्षेत्र पनि प्रभावित हुने सम्भावना राष्ट्र बैङ्कले देखाएको छ । पछिल्ला महिनाहरूमा बैङ्किङ क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा उत्साहजनक ढङ्गले बढेकामा पुनः शिथिलतातर्फ जाने देखिएको भन्दै राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको बाँकी अवधिमा मौद्रिक नीतिको सुरुको लक्ष्यभन्दा बढी नै कर्जा विस्तार हुने देखिएको जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?