logo
२०८० चैत्र १५ बिहीवार



रणनीतिक योजना मस्यौदा तयार

मुख्य समाचार |


रणनीतिक योजना मस्यौदा तयार



गोपालचन्द्र सुवेदी

काठमाडौंँ, वैशाख २ गते । लगानी प्रवद्र्धन, प्रभावकारिता अभिवृद्धि तथा दिगोपना कायम गराउने उद्देश्यले लगानी बोर्डको कार्यालयले रणनीतिक योजनाको मस्यौदा तयार गरेको छ । बोर्डको व्यावसायिक योजनालाई मार्गनिर्देश गर्ने गरी तयार गरिएको मस्यौदामा परियोजना विकासदेखि, परियोजना बैङ्क स्थापना लगानीकर्ताका लागि एकल बिन्दु सेवासम्मका पक्षहरू समेटिएका छन् ।
योजनाले गुणात्मक लगानी आकर्षण, संस्थागत सुदृढीकरण, लगानी प्रवद्र्धन र अन्तरनियामक समन्वय संरचना विकासलाई मूल आधार बनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका अनुसार बोर्डको कार्यगत दायरा, क्षमता र प्रभावकारिता विस्तार गरी परिणाममुखी बनाउन रणनीतिक योजना बनाउन लागिएको हो ।
“राज्यले दिएको कार्यभार प्रभावकारी र दिगो परिणाममुखी रूपमा सञ्चालन गर्न हामीले यो रणनीति बनाएका हौँ ” उहाँले भन्नुभयो, “यसले हामीलाई सबै खाले गतिविधिका लागि स्पस्ट मार्गनिर्देश दिनेछ र सोहीअनुरुप अघि बढ्दा लक्ष्यमा पुग्ने छौँ ।”
मस्यौदामा गरिएको प्रस्तावअनुसार बोर्डको हालसम्मका प्रयास इच्छुक लगानीकर्तालाई आह्वान गर्ने र लगानीकर्तालाई आवश्यक सहजीकरण मात्र गर्ने गरेकामा यो भूमिकालाई विस्तार गर्न खोजिएको छ । यसअनुसार अब बोर्ड कार्यालयले विभिन्न सरकारी अन्य संयन्त्रमार्पmत सम्भावित सक्षम लगानीकर्तासमक्ष आफैँ पुग्ने छ । गुणस्तरीय लगानी आकर्षण गर्नकै लागि परियोजना बैङ्क निर्माण गर्ने र त्यस्तो बैङ्कमा आकर्षक परियोजना समावेश गर्न उपयुक्त मापदण्ड निर्धारण गरिनेछ ।
सबैखाले क्षेत्रका ठूला लगानी परियोजना प्रवद्र्धनको भूमिका पाए पनि एकैखाले विधिबाट सम्बोधन गर्दा क्षेत्रगत विशिष्टताको सम्बोधन गर्न बोर्डले कतिपय अवस्थामा समस्या भोगेको थियो । यो मस्यौदामा ऊर्जा, कृषि, पर्यटन सूचना प्रविधि, पूर्वाधार क्षेत्रका लागि छुट्टाछुट्टै मार्गनिर्देश तयार गर्ने र

सोहीअनुरुप सम्बोधन गर्ने योजना राखिएको छ ।
प्रमुख कार्यकारी भट्टका अनुसार सम्भावित लगानीकर्तासँग पहुँच राख्नेदेखि आवश्यक सहजीकरण प्रवद्र्धन गर्दै लगानी गराउने तथा वहिर्गमनको अवस्थासम्म सहजीकरण गर्ने खाका बोर्ड कार्यालयले तय गरेको छ । “लगानीकर्ता ल्याउनु मात्र ठूलो कुरा हुँदैन’’, उहाँले भन्नुभयो, “वैदेशिक लगानीको दिगोपनाका लागि उनीहरू आएदेखि उद्यम व्यवसाय सञ्चालन र चाहेका खण्डमा सानदार र सहज तरिकाले फर्कनसम्म बोर्डले भूमिका खेल्नुपर्ने मार्गनिर्देश हामीले तय गर्न खोजेका छौँ ।”
संस्थागत सुदृढीकरणलाई रणनीतिक योजनाको प्राथमिकतामा राखिएको छ । यसअनुसार संस्थागत ज्ञान भण्डारण, पूर्वाधार विस्तारदेखि लगानीकर्ताका लागि स्वचालित एकद्वार प्रणाली बनाइने छ ।
लगानीकर्ता तथा प्रतिनिधिले हरेक गतिविधि वेवमा आधारित भएर सहजताका साथ सुविधा पाउन् भन्नका लागि बोर्डले सरोकारवाला करिब १६ निकायलाई आबद्ध गरेर अत्याधुनिक प्रणाली बनाउन खोजिएको छ । यसमा कम्पनी रजिष्ट्रार, वन, राष्ट्र बैङ्क, कर कार्यालयलगायतका निकाय समेट्न लागिएको छ । गत कात्तिक २५ गते सम्पन्न लगानी बोर्डको ४५आँै बैठकले रणनीतिक योजना तर्जुमा गर्न निर्देश गरेको थियो । सोहीअनुरूप बोर्डको कार्यालयले मस्यौदा तयार गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?