logo
२०८० चैत्र १६ शुक्रवार



तेस्रो टेष्ट दुई दिनमै सम्पन्न, इंग्ल्याण्डमाथि भारतको दश विकेटको जित

खेलकुद |


तेस्रो टेष्ट दुई दिनमै सम्पन्न, इंग्ल्याण्डमाथि भारतको दश विकेटको जित
तस्विर-बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १४ गते । भारत र इंग्ल्याण्डबीचको तेस्रो टेष्ट खेल दुई दिनमै सम्पन्न भएको छ । तेस्रो टेष्टको दोस्रो दिन नै इग्ल्याण्डले प्रस्तुत गरेको ४९ रनको लक्ष्य भारतले दिनको खेल सकिन करिब ३० ओभर बाँकी छँदै बिना कुनै क्षतिमा पूरा गरेको हो । जितसँगै चार म्याचको टेष्ट श्रृखंलामा भारतले २–१ को अग्रता लिएको छ ।
इंग्ल्याण्डले प्रस्तुत गरेको ४९ रनको लक्ष्य भारतले ७.४ ओभरमा बिना कुनै क्षतिमा ४९ रन बनाएर पूरा गर्यो । भारतको जितमा रोहित शर्माले २५ र शभुमन गिलले १५ रनको अविजित पारी खेल्नुभयो ।
पहिलो पारीमा ३३ रनले पछाडि परेको इंग्ल्याण्डले बिहीबार नै आफ्नो दोस्रो पारीको सुरुवात गर्दा ३०.४ ओभरमा मात्र ८१ रनको सामान्य योगफलमा समेटिन पुग्यो । उसको पारीमा बेन्न स्टोक्सले बनाएको २५ तथा जोइ रुटको १९ र ओली पोपको १२ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल छुन सकेनन् । भारतका लागि अक्षर पटेलले सर्वाधिक पाँच तथा रबिचन्द्रन आश्विनले चार र वाशिंगटन सुन्दरले एक विकेट लिनुभयो ।
अहमदाबादमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको इंग्ल्याण्डले ओपनर ज्याक क्रोलीको अर्धशतकीय पारीको सहयोगमा पहिलो पारीमा ११२ रनको योगफल तयार गरेको थियो ।
भारतका लागि अक्षर पटेलले सर्वाधिक छ विकेट लिनुभयो । रबिचन्द्रन आश्विनले तीन तथा इशान्त शर्माले एक विकेट लिनुभयो ।
जवाबमा भारतले ओपनर रोहित शर्माको ६६ रनको पारीको सहयोगमा पहिलो पारीमा १४५ रन बनायो । कप्तान विराट कोहलीले २७ रनको योगदान दिनुभयो ।
इंग्ल्याण्डका लागि कप्तान जोइ रुटले सर्वाधिक पाँच विकेट लिनुभयो । ज्याक लिचले एक र जोफ्रा आर्चरले एक विकेट लिनुभयो ।
अक्षर पटेल प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।
सन् १९३५ पछि टेष्ट खेल सबैभन्दा छिटो सम्पन्न भएको यो पहिलो अबसर हो । इंग्ल्याण्डले दुबै पारीमा दुई सयभन्दा कम रन जोडेको यो सातौं अबसर हो भने सन् १९०४ यता तेस्रो अवसर हो । दोस्रो विश्वयुद्धपछि कुनै टेष्ट खेल दुई दिनमै सकिएको यो आठौं अवसर हो । इंग्ल्याण्डले दुई दिनमा मात्रै टेष्ट हारेको सन् १९२१ पछिको यो पहिलो अवसर हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?