logo
२०८० चैत्र १५ बिहीवार



हुलाकमा विदेशबाट चिठ्ठीपत्र होइन सामान आउँछन्

फिचर |
प्रदेश |


हुलाकमा विदेशबाट चिठ्ठीपत्र होइन सामान आउँछन्


केदार तिमल्सिना 
बनेपा, माघ ६ गते । प्रविधिको विकाश नहुँदा चिठ्ठीपत्र आदान प्रदानको काम गर्दै आएको हुलाक कार्यालय पछिल्लो समय सामान ओसारपसार गर्नेलगायतका नयाँ÷ नयाँ काममा लागेको छ । मोबाईल, इन्टरनेट तथा सामाजिक सञ्जालहरुको विकाससँगै हुलाकमार्फत आदान प्रदान हुने व्यक्तिगत चिठ्ठीपत्रको काम रोकिएको छ ।

‘सूचना प्रविधिको विकास नहुँदा चिठ्ठीपत्र आदानप्रदान मार्फत खबरहरुको आदान प्रदान हुन्थ्यो तर प्रविधिको विकासले गर्दा चिठ्ठीपत्रमार्फत हुने खबर आदान प्रदानको काम रोकिएको छ’ जिल्ला हुलाक कार्यालय काभ्रेका प्रमुख हुलाक अधिकृत पदमबहादुर खत्रीले बताउनुभयो ।

उहाँले व्यक्तिगत चिठ्ठीपत्र नआएपनि व्यक्तिगत उजुरी, कुनै कार्यालय वा संस्थामाथिको उजुरी, मालपोत, प्रहरीकोमा दिने उजुरी, सरकारी कार्यालयमा आउने चिठ्ठी, विश्वविद्यालय र होटल तथा रिसोर्टहरुको चिठ्ठीपत्रहरु मात्रै आउने गरेको बताउनुभयो । ‘विगतमा विदेशबाट घर, परिवार तथा आफन्तका लागि चिठ्ठीपत्र पठाइथ्यो भने अहिले चिठ्ठीको सट्टामा ल्यापटप, मोबाइल, किताब, औषधिलगायतका सामानहरु आउने गरेको छ’ हुलाक अधिकृत खत्रीले थप्नुभयो ।
उहाँले विशेष गरी अमेरिका, जापान, कोरिया, अष्ट्रेलियालगायतका युरेपियन देशहरुबाट सामानहरु आउने गरेको बताउनुभयो ।

उहाँले स्थानीय तह भएसँगै ती स्थानीय तहमा मन्त्रालय, विभागहरुबाट चिठ्ठीपत्र आउने क्रम समेत बढेको बताउनुभयो । उहाँले हुलाकले चिठ्ठी आदानप्रदान मात्रै नभई अन्य थुप्रै कामहरु समेत गर्दै आएको बताउनुभयो । हुलाक अधिकृत खत्रीले हुलाकले अन्र्तराष्ट्रिय डाँक सेवा सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमणका कारण अन्र्तराष्ट्रिय हवाई सेवा सुचारु नभएकोले जिल्लामा अन्र्तराष्ट्रिय डाँक सेवाका चिठ्ठीपत्र दर्ता नगरिएको बताउनुभयो ।

हुलाक कार्यालयले दुई वर्षदेखि हुलाकमा दर्ता भएर सम्बन्धीत स्थानमा पठाइएका चिठ्ठीपत्र तथा हुलाक वस्तुहरु कहाँ पुग्यो, कुन अवस्थानमा छ भनेर हेर्नका लागि हुलाक वस्तुको आन्तरिक ट्रयाकिङ सिस्टम समेत सुरु गरेको छ । हुलाकले हुलाक बचत बैँक कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्लो समय हुलाकले चिठ्ठीपत्र आदान प्रदानको अलवा जिल्लामा सूचनाको हक सम्बन्धी ऐनको जिल्ला स्तरीय सार्वजनिक निकायको अनुगमन गर्ने, केवल च्यानल, टिभीहरु तथा एक सय वाटसम्मका रेडियोको लाईसेन्स नविकरण गर्ने जिम्मेवारी समेत पाएको छ ।

त्यसैगरी हुलाकले प्रेस पास, अनलाइन दर्ता, नविकरणको मध्यस्तता गर्नुको साथै लोक कल्याणकारी विज्ञापनको अनुगमन तथा सिफारिस गर्ने काम गर्दै आएको हुलाक अधिकृत खत्रीले बताउनुभयो । उहाँले आम जनतामा हुलाकको काम चिठ्ठीको काम मात्रै गर्ने भन्ने आम नागरिकमा सोच रहेको बताउनुभयो । उहाँले हुलाकले पछिल्लो समय धेरै कामहरु गरेको बताउनुभयो । काभ्रेमा जिल्ला हुलाक एक, ईलाका हुलाक १२ र अत्तिरिक्त हुलाक ६९ वटा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?