logo
२०८० चैत्र १६ शुक्रवार



हर्षोल्लासका साथ मनाइयो तिला संक्रान्ति

समाज |


हर्षोल्लासका साथ मनाइयो तिला संक्रान्ति


धीरेन्द्रप्रसाद साह
राजविराज, माघ १ गते । थारु, बातर तथा मिथिलावासी समुदायले बिहीबार उत्साहपूर्वक धुमधामसँग माघी पर्व मनाएका छन । सप्तरी सहित तराईका पूर्वी क्षेत्रका थारु समुदायका नागरिकले माघीलाई नयाँ वर्षको रुपमा मनाउने परम्परा रहेको छ । विधिपूर्वक बिहानैदेखि पूजापाठ गरेर थारु समुदायले सुगुर, बंगुरको मासु, नयाँ चामलको पिठोबाट बनाइएको ढिक्री (स्थानीय भाषामा खिचरी), तीलको लडु, भूजा र च्युराको लडु लगायतका परिकार बनाएर खाने गर्छन् भने परम्परागत पहिरनमा नाचगान गरेर रमाउँछन् ।
जिल्लाको थारु बाहुल्य कञ्चनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिकामा जातीय पहिरनमा सजिएर उत्सवको रुपमा मनाइएको छ । यस पर्वलाई माघे संक्रान्ति, मकर संक्रान्ति, तिला संक्रान्ति समेत भन्ने गरिन्छ ।
मिथिलावासीले यस दिन खिचडी, तिल, चिउरा तथा भुजा(मुरही)का लडडु(स्थानीय भाषामा लाई) लगायतका परिकार बनाएर खाने गर्दछ । ती परिकारहरु तयार पारी पूजापाठ गरी सर्वप्रथम घरका देवदेवीलाई चढाइन्छ । मिथिलाञ्चलमा भक्तजनले माघे सक्रान्तिका दिन बिहानै नहाइधुवाइ गरी चोखो भई खुशीसाथ भगवती मन्दिरका प्रवेशद्वार तथा आ–आफ्नो घर–आँगनमा कमलको फूलजस्तै चित्र बनाई श्रृङ्गार गरिन्छ ।
त्यस्तै सप्तरीका बातर समुदायका नागरिकहरुले माघी पर्वको अवसरमा बसोबास गरिएको घना टोल बस्तीमा विभिन्न कार्यक्रम गरी माघी महोत्सव मनाएको मुल आयोजक समितिले जनाएको छ । उक्त अवसरमा जिल्लाको पातो, तेरहौता, कल्याणपुरमा मेलाको आयोजना गरेको छ । थारु र बातर समुदायले माघी पर्व एक हप्तासम्म मनाउने गर्छन । माघ १ गतेलाई नेपाल सरकारले २०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिंदै आएको छ । यस वर्ष पनि सरकारले सार्वजनिक बिदा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?