logo
२०८० चैत्र १६ शुक्रवार



पुनः निर्माण हुँदै काभ्रेको ऐतिहासिक सेतो पाटी र उमादेवी मन्दिर

फिचर |
पढ्नै पर्ने |


पुनः निर्माण हुँदै काभ्रेको ऐतिहासिक सेतो पाटी र उमादेवी मन्दिर


केदार तिमल्सिना
बनेपा, पुस २९ गते । काभ्रेका दुई पुरातात्विक महत्व बोकेका ऐतिहासिक सम्पदा बनेपा नगरपालिका– १० मा रहेको सेतो पाटी र मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमा रहेको उमादेवी मन्दिरको पुनःनिर्माण हुने भएको छ ।

पुरातत्व विभागले विभागको नियमित कार्यक्रम र भुकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माणको गर्न लागि भन्दै पुस १७ गते शिलबन्दी दरभाग पत्र÷ बोलपत्र आव्हानको सूचना प्रकाशित गर्दै सेतो पाटी र उमादेवी मन्दिर पुनःनिर्माणको सूचना निकालेको हो । बनेपा नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष चन्द्रबहादुर खड्काले बनेपाको पुल बजार नजिक रहेको सेतो पाटी पुरातात्विक हिसाबले पुनः निर्माण गरिने बताउनुभयो । ‘राणाकालमा निर्माण भएको ऐतिहासिक महत्व बोकेको सेतो पाटी पुरानै शैलीमा निर्माण गर्ने पुरातत्व विभागले जनाएको छ’ वडा अध्यक्ष खड्काले बताउनुभयो ।

उहाँले पाटीसँगै रहेको ढुङ्गे धाराको सिलालेखमा उक्त धारो निर्माण भएको उल्लेख रहेको र उक्त पाटी पनि सयौँ वर्ष पुरानो हुन सक्ने बताउनुभयो । ‘पूर्वबाट आउने पैदय यात्रुहरुले थकाई मार्ने, घामपानीमा ओत लाग्ने ठाउँको रुपमा उक्त पाटी निर्माण भएको हाम्रा बाबुबाजेले बताउनुभएको छ’ वडा अध्यक्ष खड्काले बताउनुभयो । उहाँले अहिले जीर्ण अवस्थामा रहेको पाटी रहको क्षेत्रफलमा नै पुरातात्विक महत्व बोकेको सेतो पाटीको पुनःनिर्माण गरिने बताउनुभयो । उहाँले पाटी पुनःनिर्माण गर्न आवश्यक हुने जग्गा छुट्याउनको लागि नगरपालिकासँग छलफल गरिने बताउनुभयो । उहाँले पुनःनिर्माणपछि उक्त पाटी कसरी सञ्चालन गर्ने भन्ने विषयमा नगरपालिका, स्थानीयबासीहरुसँग छलफल गरेर अघि बढाइने बताउनुभयो ।

बनेपाका संस्कृतिविद् ज्ञानकाजी मान्नधरले बनेपाको पुलबजार राउत गाउँमा रहेको सेतो पाटी बनेपाका वादे परिवारले बनाएको बताउनुभयो । ‘पहिला/पहिला मानिसहरु हिडेर यात्रा गर्ने समयमा यात्रुलाई थकाई लाग्दा, घामपानीमा ओत लाग्नको वादे परिवारले उक्त पाटी बनाएको पाइन्छ’ मानन्धरले भन्नुभयो । विभागले सेतो पाटीको पुनःनिर्माणको लागि भ्याट र कन्टिजेन्सीबाहेक ७६ लाख ४५ हजार ८०२ रुपियाँको लागत अनुमान रहेको उल्लेख गरेको छ ।

यसैगरी विभागले काभ्रे कै मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमा रहेको उमादेवी मन्दिरको पुनःनिर्माणको लागि बोलपत्र आव्हान गरेको छ । उक्त मन्दिर सतिदेवीको मृत्यु पश्चात भगवान शिवले सतिदेवीको मृत शरीर बोकेर पृथ्वी परिक्रममा गर्ने क्रममा उक्त स्थानमा मुटु पतन भएर सतिदेवीको मन्दिर बनेको किवंदन्ती रहेको छ । उक्त मन्दिर पुनःनिर्माणको लागि विभागले भ्याट र कन्टिजेन्सीबाहेक एक करोड २६ लाख २७ हजार ७८२ रुपियाँको लागत अनुमान रहने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?