logo
२०८१ बैशाख ११ मंगलवार



बनेपा–पनौती सडक खण्ड कालोपत्रे हुने भएपछि स्थानीय खुसी

फिचर |
पढ्नै पर्ने |


बनेपा–पनौती सडक खण्ड कालोपत्रे हुने भएपछि स्थानीय खुसी


केदार तिमल्सिना
बनेपा, पुस २८ गते । काभ्रेको व्यस्त सडकको रुपमा रहेको बनेपा–पनौती सडक खण्ड कालोपत्रे हुने भएपछि सडक आसपासका बासिन्दा र सडक प्रयोगकर्ताहरु खु्सी भएका छन् । सडक कालोपत्रेका लागि बजेट विनियोजन भएसँगै वर्षौदेखि जीर्ण बन्न पुगेको उक्त सडक खण्ड कालोपत्रे हुनेपछि सर्वसाधारण खुसी भएका हुन् ।
पनौतीका स्थानीयबासी रामकुमार बस्नेतले वर्षौदेखि जीर्ण अवस्थामा पुगेको बनेपा–पनौती सडक कालोपत्रे हुने खबर पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सडकमा नाली बनाउने, सडक बिस्तार गर्ने, कल्भर्ट राख्ने क्रममा सडक बिग्रिएको र केही दिनअघि सडक कालोपत्रे हुने खबर सुन्दा खुसी भएको बताउनुभयो । ‘सडकमा वर्षामा हिलो र हिउँदमा धुलो हुँदा सडक प्रयोगकर्ता र सडक आसपासका सर्वसाधारणमा आजित थिए, अब कालोपत्रे हुने भएपछि सबै खुसी हुनुभएको छ’ बस्नेतले थप्नुभयो । उहाँले सडक कालोपत्रे भएपछि यात्रा गर्न सहज हुनुको साथै सडक आसपासका घरमा पुग्ने धुलो कम हुने बताउनुभयो ।
पनौती नगरपालिका–४ का विशाल तिमल्सिनाले सडक कालोपत्रे भएसँगै सडकमा यात्रा गर्न सहज हुने बताउनुभयो । ‘सडक कालोपत्रे नहुँदा हिलो र धुलोको धेरै समस्या थियो, कालोपत्रे भएपछि अब यो समस्या समाधान हुनेछ’ उहाँले थप्नुभयो । उहाँले सडक कालोपत्रे भएसँगै पनौतीबाट बनेपा, धुलिखेल तथा काठमाडौँ काम गर्न जानेहरुलाई समेत समयको बचत हुने बताउनुभयो ।
काभ्रेको पनौती नगरपालिकाका नगर प्रमु्ख भीमप्रसाद न्यौपानेले सडक कालोपत्रे गर्नको लागि सरकारले बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले बजेट विनियोजन भएसँगै वर्षौदेखि बिग्रिएको उक्त सडक कालोपत्रे हुने बताउनुभयो । ‘केही वर्षअघि कालोपत्रे गरिएको सडक जीर्ण बन्दा सडकमा यात्रा गर्ने यात्रुहरु तथा चालक तथा सडक आसपास रहेका स्थानीयबासी पीडित हुनु भएको थियो, अब सडक कालोपत्रे भएपछि यी सबै समस्याको समाधान हुने विश्वास लिएको छु’ नगर प्रमुख न्यौपानेले बताउनुभयो । उहाँले बनेपा–पनौती सडक खण्ड कालोपत्रे गर्नको लागि १६ करोड ७५ लाख रुपियाँ बजेट विनियोजन भएको बताउनुभयो ।
सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर जयराम अधिकारीले बनेपा–पनौती सडक खण्डको कालोपत्रे हुने अनौपचारिक जानकारी प्राप्त भए पनि कार्यालयलाई सडक कालोपत्रे गर्ने औपचारिक कुनै पत्र नआएको बताउनुभयो । ‘बनेपा–पनौती सडक कालोपत्रे गर्नको लागि बजेट विनियोजन भएको कुरा आएको छ, कार्यालयमा निर्णयको पत्र आएको छैन, सडक कालोपत्रे गर्ने विषयमा डिजाइन गर्नको लागि बुधबार डिजाइन टोली जाँदैछ’ उहाँले भन्नुभयो । उहाँले असार मसान्तसम्म सडक कालोपत्रे गरिसकिने बताउनुभयो । अधिकारीले पिचको थिकनेश कति राख्दा सडक बलियो हुन्छ भन्ने विषयमा डिजाइन टोलीले अध्ययन गर्ने बताउनुभयो ।
उहाँले बनेपा–पनौती सडक खण्डको ६ किलोमिटर दूरीको सडकमा पक्की नाली, रिटेनिङ वाल र विभिन्न स्थानमा ड्रेन बनाउन काम र सडक बिस्तार गरिएको स्थानहरुमा ग्राभेलिङ गर्ने काम सकिएको बताउनुभयो । इन्जिनियर अधिकारीले उक्त सडकमा सब–बेस हाल्ने, बेस हालेर कालोपत्रे गर्ने काम बाँकी रहेको बताउनुभयो । उहाँले नेपाल विद्युत प्राधिकरणले सडकमा रहेका बिद्युतका पोल हटाउने काम समेत सुरु गरेको बताउनुभयो । उक्त सडक अहिले ११ मिटरको छ ।
उक्त सडकमा दैनिक रुपमा सयौँ मालवाहक ट्रिपरहरु ओहोरदोहोर गर्ने भएकोले उक्त सडक कालोपत्रे गरेको केही वर्षमा नै बिग्रने गरेको छ । सडक डिभिजन कार्यालयले सडकमा गुड्ने मालवाहक सवारी साधनलाई लक्षित गर्दै त्यही अनुरुप कालोपत्रे गर्ने सोच बनाएको इन्जिनियर अधिकारीले बताउनुभयो ।
प्रतिनिधि सभाका पूर्व सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले बनेपा–पनौती सडक कालोपत्रे गर्नको लागि १६ करोड ७५ लाख, बनेपाको पुल बजारदेखि बुडोलसम्मको दाँयाबाँया कालोपत्रे गर्न, जिल्लाकै पाँचखालको मूल बजारको एक साइड कालोपत्रे गर्न र बनेपाको बुडोलदेखि धुलिखेलसम्मको सडक स्तरोन्नति गर्नको लागि २५ करोड रुपियाँ बजेट विनियोजन भएको बताउनुभयो । उहाँले उक्त कार्यसँगै काभ्रे र भक्तपुरको सीमा साँगा नाकादेखि बनेपा सडक खण्डको स्तरोन्नति हुने बताउनुभयो । उहाँले छ महिनामा सबै काम सम्पन्न हुने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?