logo
२०८० चैत्र १६ शुक्रवार

कर्णाली आसपास र बढैयाताल क्षेत्र वरपर चराको संख्या घट्यो (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-01-11-29987
तस्विर सौजन्यः दिपक राजवंशी


मुकुन्द सुवेदी
बर्दिया, पुस २७ गते । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्र तथा अन्य तालतलैयाहरुमा बर्दिया प्रकृति संरक्षण क्लबको आयोजनामा चरा गणना भैरहेको छ ।

चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर चरा गणना भैरहेको बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष समेत रहनुभएका चरा विज्ञ राम शाहीले जानकारी दिनुभयो । अध्यक्ष शाहीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चराहरुको गणना गरिने छ । कर्णाली चिसापानीदेखि कोठियाघाटसम्म, कर्णाली चिसापानी देखि दौलतपुर घाटसम्म, कृष्णसार संरक्षण क्षेत्रको भगहरताल, बढैयाताल, सत्खलुवा ताल, बबई (चेपाङ) पुल आसपासको क्षेत्रमा चराको गणना गरिनेछ ।

चरा गणना कार्यमा ६० जनाभन्दा धेरै गणक सहभागी रहेको र भोलीसम्ममा गणना सम्पन्न गर्ने तयारी भैरहेको अध्यक्ष शाहीले बताउनुभयो । उहाँका अनुसार चरा गणना कार्यमा संलग्न सबै स्वंसेवीको रुपमा छन् ।
चरा गणक स्वयंसेवीहरुलाई खाना, नास्ता लगायतको व्यवस्थाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, पर्यापर्यटन विकास मञ्च, नेपाल पंक्षी संरक्षण संघ र उज्यालो नेपालले सहयोग गरेका छन् ।

प्रजाति घटेनन्, संख्या घट्यो
हिउँदे आगन्तुक चरा गणनाको नेतृत्व गरिरहनुभएका बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष राम शाहीका अनुसार चरा गणनाको क्रममा चराको संख्य विगतका बर्षहरुमा भन्दा घटेको पाइएको छ ।
विशेष गरेर कर्णाली क्षेत्र आसपास र बढैयाताल क्षेत्र वरपर चराको संख्या घटेको चरा विज्ञ अध्यक्ष शाहीले जानकारी दिनुभयो । चराका प्रजाति विगतका बर्षहरुमा जस्तै अहिले पनि पाइएको तर संख्यामा भने कमी देखिएको छ । उहाँले कति चरा घटे भनेर वास्तविक तथ्यांक अहिले भन्न नसकेपनि गणनाका कार्यको प्रारम्भिक अवस्थामा चराको संख्यामा कमी देखिएको बताउनु भयो ।

कर्णाली क्षेत्र आसपास नदीमा बाँध निर्माणका लागि दिनहुँ जसो जेसिभि र ट्रिप्पर चल्नाले चराको बासस्थानमा अवरोध पुगेको कारण चराको संख्यामा उल्लेख्य कमी आएको हुन सक्ने उहाँको दाबी छ । त्यस्तै बढैयाताल क्षेत्र आसपासमा भने दिनहुँ निर्माण भैरहेका घरहरु, ताल वरपरबाट गुडिरहने ट्याक्टर र वनभोज खान आउनेहरुले बजाउने साउण्ड सिस्टमको कारण धेरै मात्रमा ध्वनी प्रदुषण भएकोले चराको संख्यामा कमी आएको हुनसक्ने देखिएको छ ।
अध्यक्ष शाहीले भन्नुभयो, “आहाराको कमीका कारणभन्दा पनि ध्वनी प्रदुषण र वासस्थानमा भएको अवरोधले चराको संख्यामा कमी आएको स्पष्ट छ ।”