logo
२०८१ बैशाख ८ शनिवार



कुरारी फ्यालफ्याले र राग महाचिल सङ्कटको सूचीमा

फिचर |
खुला |


कुरारी फ्यालफ्याले र राग महाचिल सङ्कटको सूचीमा


चाँदनी हमाल

काठमाडौँ, पुस २२ गते । नेपालमा पाइने चरामध्ये दुई प्रजातिका दुर्लभ चरा इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचर (आईयूसीएन)को सङ्कटको सूचीमा परेको छ । अन्य एक चरा सङ्कटापन्नको सूचीमा उक्लिएको छ । त्यस्तै एक चरा सूचीबाटै बाहिरिएको छ ।
आईयूसीएनले नेपालमा पाइने कुरारी फ्यालफ्याले चरा र राग महाचिललाई सङ्कटको सूचीमा राखेको छ । यी दुई चरालाई ‘रेड लिस्ट’को संवेदनशील सूचीमा सूचीबद्ध गरिएको जनाइएको छ र यसको अर्थ सङ्कटको सूचीमै हुनु हो ।
त्यस्तै पहिल्यैदेखि संवेदनशील सूचीमा रहेको नेपालको झाँझर चिउवा चरालाई सङ्कटापन्नको सूचीमा समावेश गरिएको छ । यो चरा अझ जोखिममा पर्दै गएको र लोप हुन सक्ने सम्भावनालाई आकलन गरिएकाले सो सूचीमा समावेश गरिएको जनाएको छ ।
दुर्लभ यो चरा नेपालको कोसीमा बढी र आक्कलझुक्कल नारायणी तथा कर्णालीको किनारमा मात्र रमाउने गथ्र्यो । चराविद् डा. हेमसागर बरालले पछिल्लो समय कोसी क्षेत्रमा पनि यो चरा नदेखिएको जानकारी दिनुभयो । यसको सङ्ख्या नेपालमा बर्सेनि घट्दो अवस्थामा रहेको र सबैभन्दा ठूलो सङ्ख्या रहेको बङ्गलादेश, भारत तथा पाकिस्तानमा समेत घट्दै गएको छ । यो माछा खाने चरा हो ।
आईयूसीएनलाई उद्धृत गर्दै चराविद् बरालले नेपालमा पाइने लोभीपापी गरुडलाई अब सूचीमा राख्न नपर्ने देखिएको बताउनुभयो । “दुई प्रजातिका चरा थपिए र एउटा बाहिर निस्किएपछि अब आईयूसीएनको रेड लिस्टमा नेपालमा पाइने चराको सङ्ख्या ४३ वटा पुगेको छ”, डा. बरालले भन्नुभयो ।
नयाँ थपिएकामध्ये राग महाचिल चिन्न कठिन पर्ने चरा हो । उहाँका अनुसार सिकारी चरामध्ये यो चरा अन्य चिलसँग केही मिल्दोजुल्दो रहेकोले झुक्किने गरिन्छ । “त्यसैले यो जसरी सहजै पाइन्छ भनेर सोचिएको थियो, त्योभन्दा निकै सानो सङ्ख्यामा रहेको पाइएकाले आईयूसीएनको रेड लिस्टको सूचीमा राखिएको हो”, उहाँले थप्नुभयो ।
तराईको कोसीसहितका सिमसारमा बढी देखिने कुरारी फ्यालफ्याले चरा अहिले कोसीमा मात्र सीमित भएको छ । विज्ञहरूका अनुसार सिमसार क्षेत्रमा आएको ह्रास, चराको बासस्थानजन्य वातावरणको विनाश, वन विनाश, मानिसबाट हुने वन र वन्य पदार्थको दोहनले सहज रूपमा आहारा नपाउने समस्या लगायतका कारण यी चरा थप सङ्कटमा पर्दै गएका हुन् । आईयूसीएनको अति सङ्कटापन्नको सूचीमा देव हाँस, गुलाफी टाउके हाँस, खरमुजुरलगायत १० प्रजातिका चरा छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?