logo
२०८१ बैशाख ७ शुक्रवार

मनाङमा हिमपात: चिसो बढ्यो, जनजीवन प्रभावित (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-01-05-29672


बेलिना थापा
लमजुङ, पुस २१ गते । हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ परेको छ । मनाङको माथिल्लो क्षेत्रमा मंगलबार बिहानैबाट हिउँ परेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बिहानैदेखि हिउँ पर्दा चिसो बढेको छ । मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार सोमबार बेलुका केही मात्रामा हिउँ परेको थियो । मंगलबार दिउँसोसम्म पुनः हिउँ परेको उहाँले बताउनुभयो । ‘गाउँसम्मै हिउँ परेको छ । यो दोस्रो पटक हो मनाङमा हिउँ परेको’ उहाँले भन्नुभयो, ‘केही समय रोकिँदै हिउँ परेको छ । माथिल्लो मनाङका हुम्डे, भ्राका, खाङ्सारसम्म २/३ इन्च सम्म जमेको बुझिएको छ ।’

मनाङको माथिल्लो क्षेत्रमा बढी र तल्लो क्षेत्रमा केही मात्रामा हिउँ परेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताउनुभयो । उहाँका अनुसार मनाङमा दोस्रो पटक ठूलो मात्रामा हिउँ परेको हो । यसअघि मङ्सिर १ गते पहिलोपटक ठूलो मात्रामा हिउँ परेको थियो । माथिल्लो मनाङमा २ इन्चसम्म हिउँ जमेको उहाँले बताउनुभयो । ‘आज बिहानबाट हिउँ प-यो । चिसो अत्याधिक छ । दिउँसोसम्म परिरह्यो । बेलुकापख मात्र बन्द भएको छ’ उहाँले भन्नुभयो, ‘चिसोका कारण स्थानीय घरभित्रै आगो तापेर बसेका छन् । तापक्रम माइनस १३ डिग्री सेल्सियससम्म पुगेको छ ।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका स्वास्थ्यकर्मी ललिता गुरुङका अनुसार माथिल्लो मनाङमा सोमबार रातिबाट हिँउ परेको र मंगलबार पनि परेको हो । २ इन्चसम्म हिउँ जमेको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो–‘हिउँ परिरहेको छ । चिसो बढेको छ । कहिले ठूलै त, कहिले हल्का फुरफुर परेको छ । तापक्रम माइनसमा छ ।’

स्थानीयका अनुसार गाउँघरका वस्तीमै हिउँ परेको छ । डाँडाकाँडा हिउँले ढाकिएको छ । चिसोले जनजीवन प्रभावित हुन थालेको छ । मनाङको माथिल्लो क्षेत्रमा बढी मात्रामा हिउँ परेको मनाङका प्रमुख जिल्ला अधिकारी कृष्ण लामिछानेले बताउनुभयो । उहाँका अनुसार तल्लो क्षेत्रमा खासै परेको छैन । मनाङ ङिस्याङ गाउँपालिका, नार्पाभूमि गाउँपालिकाका गाउँवस्तीमा भने धेरै मात्रामा हिउँ परेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने हुम्डे, मनाङ, ङावल, घ्यारुलगायतका ठाउँमा हिउँ परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘माथिल्लो क्षेत्रमा मात्र हिउँ देखिएको छ । चामेसम्म आइपुगेको छैन । माथिमाथि डाँडासम्म भने केही परेको छ । माथिल्लो क्षेत्रको कुनै ठाउँमा डेढ फिटसम्म हिउँ जमेको स्थानीयले भनेका छन् ।’

स्थानीयका अनुसार माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भएको छ । यसअघि मनाङमा कात्तिक १७/१८ गतेतिर ३००० उचाइसम्म केही मात्रामा हिउँ परेको थियो । अहिले हिउँ तलसम्म पर्न थालेको हो । गतवर्षभन्दा यसवर्ष छिट्टै हिउँ परेको उहाँले बताउनुभयो । गतवर्ष भने मंसिर २७ गतेबाट हिउँ पर्न थालेको थियो ।