logo
२०८० चैत्र १६ शुक्रवार

पदयात्रामा रमाउने पर्यटकको रोजाइमा पर्दै देवचुली डाँडा (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
पर्यटन |
फोटो फिचर |


2020-12-01-27484


ज्ञानु पंगेनी
कावासोती, मंसिर १६ गते । कोरोना कहरले थला परेको पर्यटकीय क्षेत्रहरुमा पछिल्लो केही दिनयता आन्तरिक पर्यटकको चलहपहल सुरु भएको छ । पदयात्रा गर्ने पर्यटकको रोजाईंमा परेको नवलपरासी पूर्व (नवलपुरको) देवचुली नगरपालिका वडा नम्बर ६ मा रहेको जिल्लाकै सबैभन्दा अग्लो पहाड देवचुली डाँडामा पदयात्रा गर्न जिल्लाभित्र र आसपासका छिमेकी जिल्ला चितवन, तनहुँ, मकवानपुर, नवलपरासी पश्चिम, रुपन्देही लगायतका जिल्ला र देशका अन्य ठाउँबाट समेत यहाँ आउन थालेका छन् । कोरोना संक्रमण (कोभिड – १९) का कारण लामो दूरीको यात्रा गरि टाढाका पर्यटकीय क्षेत्रमा पुग्न त्रास रहेका कारण पनि नजिकै छिट्टै पुग्न सकिने पर्यटकीय स्थलहरुको खोजीमा रहेकाहरुलाई अहिले मुख्य पर्यटकीय गन्तव्यका रुपमा देवचुली डाँडा बन्न पुगेको छ ।
पूर्वपश्चिम राजमार्गको दलदलेबाट मुण्डे –पोखरी हुँदै जाने रुटबाट झण्डै २५ किलोमिटरको दूरीमा रहेको जिल्लाकै अग्लोे देवचुली डाँडापदयात्रा गर्नेका लागि निकै रमणीय छ । महाभारत पर्वत शृङ्खलाको १९३४ मिटरको उचाईमा रहेको पर्यटकीय क्षेत्र पुग्न राजमार्गको दलदलेबाट एक घण्टामा सवारी साधनमा बोझापोखरी पुग्न सकिन्छ । बोझापोखरीबाट करिब तीन घण्टाको पैदलयात्रापछि देवचुलीको टुप्पोमा पुगिन्छ । यस्तै अर्को रुट दलदले मुण्डे – कृतीपुर हुँदै जाँदा करिब १६ किलोमिटर पर्छ । कृतिपुरसम्म सवारी जान्छ त्यसपछि पैदलयात्रा सुरु हुन्छ । कृतीपुर हुँदै जादा करीब दुई घण्टाको पैदलयात्रा गरेपछि टुप्पोमा पुग्न सकिन्छ । शनिबार र बिदाका दिन देवचुलीमा पदयात्रा गर्ने पर्यटकको संख्या बढी हुन्छ । आठदश जनाको समूह बनाएर दशबाह्र वटा समूहसम्म यहाँ पदयात्राका लागि पुग्ने गरेका छन् । अन्य समयमा पनि पन्ध्र बिस जना यहाँ पुग्ने गरेको चुलीबोझामा देवचुली मगरहोम स्टे संचालन गर्नुभएकी यममाया गाहाले बताउनुभयो । देवचुली चढ्नेहरु अघिल्लो रात होम स्टेमा बसेर बिहानै तीनचार बजे नै पदयात्रामा निस्कने गरेको उहाँ बताउनुहुन्छ ।
देवचुली डाँडाबाट उत्तर तर्फका हिमाली दृश्य सहजै अवलोकन गर्न सकिन्छ । डाँडामाथिबाट बादलको लुकामारीको दृष्य निकै रमणीय देखिन्छ । यहाँ पुग्नेहरु बिहानको सूर्योदय र साँझको सूर्यास्त हेर्न डाँडामा नै बास बस्छन् । सूर्योदयको समयमा उत्तरतर्फ देखिने माछापुछ्रे, अन्नपूर्ण र धौलागिरी हिमाल चाँदी झैँ टलक्क टल्किएको मनोरम दृष्यले यहाँ पुग्दा लागेको थकान मटाईदिन्छ ।यहाँबाट तनहुँ, पाल्पा, कास्किका बिभिन्न भुभागको समेत अवलोकन गर्न सकिन्छ । लालिगुरासको वन, दक्षिणमा पूर्वपश्चिम राजमार्गका बस्तीसहित नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र, समथर भूभागको अवलोकन गर्न सकिन्छ ।टुप्पोमा २३ फिट अग्लो भ्यूटावर निर्माण गरिएको छ ।
थारु समुदायले यहाँ प्रत्येक वर्ष चैत पूर्णीमाका दिन विशेष पूजा गर्ने गर्दछन् । देवचुली डाँडामा रहेको तीनकन्यामाईको मन्दिरमा पूजाआज गरिन्छ । समुन्द्र सतहदेखि १८०० मिटरको उचाईमा देवचुली डाँडाको फेदीमा रहेको गुफाभित्र मन्दिर छ । नवलपुरका थारु समुदाय पूर्णिमाको अघिल्लो रात कीर्तिपुरमा (मगर समुदायकोमा) बास बसी चैत पूर्णिमाको दिन मन्दिरमा पूजा गर्दछन् । सोही स्थानमा पाँच वर्षमा एकपटक कन्तरी माईको पूजा गर्ने प्रचलन थारु समुदायमा छ । यहाँ पुजाआजा गर्नाले आफ्नो कुलमा सुख,संवृद्धि हुने विश्वास थारु समुदायको छ । थारु र मगर समुदायको घनिष्ठ सांस्कृतिक सम्बन्ध रहेको क्षेत्रका रुपमा देवचुलीलाई लिइन्छ । परापूर्वकालमा यहाँ पाँच पाण्डवहरु गुप्तवास बसेको किंवदन्ति  छ ।
गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेशमा रहेका १ सय १० वटा पर्यटकीय गन्तव्यमा पनि नवलपुरको १० वटा गन्तव्यमध्ये एउटा देवचुली डाँडा पनि पर्छ ।
जिल्लाकै उत्कृष्ट पदयात्राको गन्तव्य वन्ने सम्भावना बोकेको यस क्षेत्रको उचित विकास भने हुन नसकेको स्थानीय अगुवा खिमानन्द भुषालले गुनासो व्यक्त गर्नुभयो । पदयात्राका लागि आवश्यक पूर्वाधार निर्माणमा सम्बन्धित पक्षले ध्यान दिन जरुरी रहेको भुषाल बताउनुहुन्छ । पदमार्ग निर्माण,खानेपानीको व्यवस्थापन, विश्राम स्थल, फोहोरको व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा लगायतका काम गर्न सके र व्यापक प्रचारप्रसार गर्न सकेमा यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमनमा वृद्धि गर्न सकिने उहाँको भनाई छ ।
प्राकृतिक रुपमा मनोरम स्थान भए पनि यसको विकासका लागि अहिले सम्म कुनै ठोस योजना भने निर्माण हुन सकेको छैन् । जसले गर्दा यस क्षेत्र ओझेलमा पर्दै आएको छ । देवचुली नगरपालिकाले यस वर्ष डाँडाको विकासको लागि भनि बजेट छुट्याएको छैन । गत वर्ष लिफ्ट मार्फत् खानेपानी पु¥याउने भनि १५ लाख रुपैँया बजेट बिनियोजन गरेको देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले बताउनुभयो । पदमार्ग स्तराेन्नति गर्न यस वर्ष प्रदेश सरकार र संघीय सरकारले १०/१० लाख रुपैँया विनियोजन गरेको तिवारीले जानकारी दिनुभयो । गत वर्ष पनि प्रदेश सरकारले पदमार्गकै लागि १० लाख बिनियोजन गरेको उहाँले बताउनुभयो । प्राप्त बजेटबाट केहि अप्ठेरो ठाऊमा सिँढी बनाउने र बाटो बनाउने काम गरिएको उहाँको भनाइ छ । अझै पनि आवश्यक पूर्वाधार विकास गर्न नसकिएको भन्दै उहाँले नगरपालिका देवचुली डाँडाको पूर्वाधार विकासमा गम्भीर रहेको र आगामि दिनमा प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।
खानेपानी तल खोलाबाट माथी ल्याउनका लागि सोलार पम्प राख्ने, पाइप जडान गर्ने टंकी निर्माण गर्ने काम सकिएको र मोटर फिट गर्न मात्रै बाँकी रहेको देवचुली नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मिन बहादुर सोतीले बताउनुभयो । अझै करिब पाँच लाख रुपियाँको काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो । वर्षाको समयमा खोलामा बाढी आउदा काम गर्न नसक्दा ढिला भएको र अब छिट्टै काम सम्पन्न गरेर बढीमा फागुन १५ भित्र खानेपानीको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।