logo
२०८० चैत्र १५ बिहीवार

दुर्गम गाउँमा सडक पु-याउन अजिङ्गर भीर फुटाइँदै

प्रदेश |
फोटो फिचर |


2020-11-27-27252


ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर १२ गते । म्याग्दीको दुर्गम गाउँमा सडक पु¥याउन कहालीलाग्दो भीर फुटाएर ट्रयाक खोल्न थालिएको छ । रघुगङ्गा गाउँपालिकाका वडाहरु वडा नं. ४ दर्मिजा, ७ चिमखोला र ८ कुइनेमङ्गलेका बस्तीहरुलाई सडक सञ्जालसँग जोडन डरलाग्दो अजिङ्गर भीर फुटाउन थालिएको हो ।


निकै कठिन र जोखिमयुक्त रहेको भिरमा यतिखेर सडक निर्माणको काम भइरहेको छ । यो गाउँपालिका केन्द्र हुँदै सदरमुकाम बेनी जोड्ने छोटो दूरीकाे सडक हो ।
अजिङ्गर भीरमा सडकको ट्रयाक खुलेपछि दुर्गम भेगका सर्वसाधारणको मोटर चढ्ने चाहना पूरा हुनेछ ।
अजिङ्गर भीरमा ट्रयाक खोलेर सडक बनाउन नसक्दा दुर्गम ती गाउँका स्थानीयहरुको मोटर चढ्ने सपना अधुरो थियो । रघुगङ्गा गाउँपालिका–४ को दग्नामसम्म पुगेको सडकलाई कुइनेमङ्गलेसम्म पु¥याउन अजिङ्गर भीर अवरोध बनेको थियो । अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँमा सडक पु¥याउन ठूलै चुनौती थियो ।
गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना सुरु भएको पाँच वर्ष भयो । अजिङ्गर भीर फुटाउन बजेट अभावका कारण समयमै सडक पु¥याउन नसकिएको स्थानीय सरकार बताउँदै आएको थियो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै गौरवको आयोजना छनौट गरी प्राथमिकताका साथ बजेट विनियोजन भएपछि सडक निर्माणले तीव्रता पाएको हो ।
दुर्गमका बस्तीहरुमा सडक पु¥याउन गाउँपालिकाले गौरवको आयोजना छनौट गरी प्राथमिकताका साथ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार चिमखोलामा निर्माणाधीन तुङ्दी जलविद्युत् आयोजना, सङघीय र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भिर फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्न लागिएको हो ।
‘अजिङ्गर भीरमा सडक खन्न यो वर्ष गाउँपालिकाले एक करोड ५० लाख रुपियाँ र गण्डकी प्रदेश सरकारले ५० लाख रुपियाँ विनियोजन गरेको छ,’ अध्यक्ष भण्डारीले भन्नुभयो, ‘जलविद्युत् आयोजनासँग ट्रयाक निर्माणका लागि बराबरी लगानी गर्ने सम्झौता भएको छ ।’ अजिङ्गर भिरमा ट्रयाक खुलेसँगै दुर्गम भेगका सर्वसाधारणहरु लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भीर पाँच किलोमिटर र चिमखोलादेखि दर्मीजासम्म करिब चार किलोमिटर सडकको ट्रयाक खुलिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । माघ महिनाभित्र अजिङ्गर भीरमा ट्रयाक खुलाउने गरी काम भइरहेको उहाँले बताउनुभयो । कडा भीरमा विस्फोटक पदार्थ प्रयोग गरेर सडक खन्ने काम भएको उहाँले बताउनुभयो ।
चिमखोला र कुइनेमङ्गलमा निर्माणको क्रममा रहेको जलविद्युत् आयोजनाको सहयोगमा नेपाली सेनाको निगरानीमा विष्फोटक पदार्थ प्रयोग गरेर चट्टान फुटाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । दर्मीजा र दग्नाम दुवैतर्फबाट पाँच वटा डोजरका साथै मजदुर परिचालन गरेर सडक निर्माणको काम भइरहेको गाउँपालिकाका सब–इन्जिनियर कमल चोखालले बताउनुभयो । कडा र अप्ठ्यारो भीर झण्डै आठ सय मिटरममध्ये १५० मिटर ट्रयाक खोल्न बाँकी रहेको उहाँले बताउनुभयो ।