logo
२०८० चैत्र १६ शुक्रवार



खप्तडमा हिमपात, तापक्रम माइनस पाँच डिग्री पुग्यो

फिचर |
पढ्नै पर्ने |


खप्तडमा हिमपात, तापक्रम माइनस पाँच डिग्री पुग्यो


डोटी, मङ्सिर २ गते । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् ।

हिउँ करिब आधा फिट जति परेको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडलगायतका क्षेत्रमा कम्तीमा पनि आधा फिट हिउँ परेको छ, हिमपातका कारण चिसो पनि बढेको छ ।” हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उहाँको भनाइ छ । आउँदो पुस १५ गतेसम्म पर्ने हिउँ खासै नजम्ने तथा असर पनि नगर्ने भएका कारण खप्तड घुम्न आएका पर्यटकलाई हिमपातले कुनै समस्या नपार्ने गरेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण घुमफिर तथा जताततै हिँडडुलमा स्थानीय प्रशासानले रोक लगाए पनि खप्तड क्षेत्रमा भने निर्वाधरूपमा आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक अवलोकनका लागि आउन थालेको स्थानीय धनबहादुर विष्टले जानकारी दिनुभयो । गएको वैशाखदेखि कात्तिकसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् । आज बिहान भने खप्तडलगायतका क्षेत्रको मौसम सुधार हुनुका साथै बिहानै घाम लागेको बग्लेकका स्थानीय हर्कबहादुर साउदले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?