logo
२०७७ मंसिर १२ शुक्रवार

धरान चिनाउने धामः दन्तकाली

फिचर |
समाज |


2020-10-27-25462
तस्विर-फाइल


–देवेन्द्र कार्की

धरान, कात्तिक ११ गते। पूर्वको प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरको यस वर्षको नौरथामा भेटी घटेको छ । धरान–१४ विजयपुर डाँडास्थित मन्दिरमा ५१ वर्षदेखि दशैँको नौ दिन ठूलो मेला लाग्ने गरेको थियो । दैनिक पाँच हजारभन्दा बढी मानिस घुम्न तथा पूजाआजा गर्न आउने गरेका थिए ।

यस वर्ष कोरोना महामारीका कारण संघीय तथा स्थानीय सरकारले मन्दिरमा पूजाराधनामा बन्देज लगाएपछि नौरथामा मात्र मन्दिरलाई झण्डै रु ६ लाख घाटा भएको मन्दिरका मूल पूजारी विश्वराज खनालले जानकारी दिनुभयो ।

प्रदेश नं १ को धरानमा अधिक कोरोना संक्रमण फैलिएको छ । संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । सोही कारणले बडादशँैंमा नित्यपूजा तथा विशेष पूजामा पुजारीबाहेक कसैलाई पनि प्रवेश गर्न नदिइएको भएको धरान उपमहानगरपालिका १४ नं वडाध्यक्ष कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार दन्तकालीमा यस पटक विगत जस्तो नवरात्रिको बढाइँ भएन । फूलपातीको पनि विधि मात्र पूरा गरियो । यसैगरी बलि पनि मन्दिर समितिका तर्फबाट मात्र गरिएको छ । मन्दिरका तर्फबाट र वडा कार्यालयले सूचना प्रकाशन गरी मन्दिरमा नजान र घरमै पूजा गर्न भक्तजन तथा सर्वसाधारणलाई आग्रह गरिएको थियो ।

‘दशँैको नौरथामा घुम्न आउने तथा पूजा गर्न आउनेबाट मात्र दैनिक रु ५०-६० हजार आम्दानी हुने गरेको थियो’, मूल पुजारी खनालले भन्नुभयो, ‘यस वर्ष कोही आउन पाउनु भएन । हाम्रो आम्दानी गुम्यो ।’ मन्दिर परिसरमा नौरथामा मात्र दैनिक एक लाख भन्दा बढीको पूजा सामग्री, खेलौना, मन्दिरका चिनारी तस्वीर, नरिवल, बेलुनलगायत सामग्री बिक्रीबाट आम्दानी हुने गरेको थियो ।

कोरोनाका कारण मन्दिर परिसरमा व्यवसाय गर्दै आएका व्यापारीको पनि व्यापार चौपट भएको स्थानीयवासी दुर्गा भुजेल बताउनुहुन्छ । मूल पुजारी खनालका अनुसार महाअष्टमीमा भक्तजनले बोका, राँगा र हाँसको बलि दिने गरेका थिए । एक सयदेखि दुई सयसम्म पशुपक्षीको बलि दिँदै आए पनि यस वर्ष भक्तजन आएनन् ।

विधि र प्रक्रिया पु¥याउन नौ दिन नै दैनिक पशुबलि दिने गरिन्छ । अन्य समयमा पनि १५-१५ दिनमा बोकाको बलि दिने परम्परा छ । सात महिनादेखि सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण आम्दानी शून्य हुँदा व्यवस्थापन समिति घाटामा गइरहेको पुजारी खनाल बताउनुहुन्छ । ‘पन्ध्र दिनमा बलि नदिँदा अनिष्ट हुने गरेको छ ।

त्यही भएर हामीले नियमित बलि दिने गरेका छौंँ ’,पुजारी खनालले भन्नुभयो । सत्ययुगमा पार्वतीको दाँत पतन भएका स्थानमा दन्तकाली माताको उत्पति भएको किंवदन्ती पाइन्छ । यो कुरा श्रीस्वस्थानी कथामा समेत उल्लेख गरिएको छ । यहाँ बलि दिँदा र पूजाराधना गर्दा मनमा चिताएको पुग्ने विश्वासले हजारौँ भक्तजनले टाढाटाढाबाट आएर पशुपक्षि बलि दिने तथा पूजाराधना गर्ने गरेको स्थानीयवासी भुजेल बताउनुहुन्छ ।धरानको विजयपुरमा पिण्डेश्वर बाबा, बुढासुब्बा मन्दिर तथा पञ्चकन्या मन्दिर पनि छन् । यी कुनै मन्दिरमा आउने भक्तजन दन्तकाली मन्दिरको दर्शन नगरी फर्कँदैनन् ।

परम्परा धान्दै
दन्तकाली मन्दिर गुठीअन्तर्गत सञ्चालन हुँदै आएको छ । यहाँका आम्दानी पुजारीले व्यवस्थापन गर्दै आएका छन् । बाहिरबाट भक्तजनले प्रवेश नपाएपछि यस वर्ष पाँच पुजारीले पूजाराधना गरेका छन् ।दैनिक फूलपाती, धुप, बत्ती बाल्ने काम पुजारीले गर्दै आएका छन् । सामान्य रुपमा पनि महिनामा रु १५-२० हजार खर्च व्यवस्थापन समितिले व्यहोर्दै आएको पुजारी खनाल बताउनुहुन्छ । लकडाउनले आम्दानी नभए पनि परम्परा धानिरहेको मन्दिर गुठी व्यवस्थापन समितिका संयोजक रमेश खनालले बताउनुुभयो ।

महिनामा दुई बोका बलि चढाउने चलन छ । महिनामा रु २० हजार सामान्य खर्च हुने गरेको छ । धरानलाई चिनाउने धाममा उपमहानगरपालिकाको उपस्थिति र सहयोग भने शून्य रहेको पुजारी खनाल बताउनुहुन्छ । यस्तो समस्या परेका बेला त सहयोगको अपेक्षा गरिए पनि केही राहत नपाएको उहाँको भनाइ छ ।
नौरथामा रमाइलो
धरानबाट जागीर तथा अध्ययनका लागि बाहिरी जिल्लामाा बस्दै आएका युवा घटस्थापना अगावै धरान आउने गरेका थिए । कतिपय युवाले नौरथा मेलालाई प्रेम गाँस्ने, प्रगाढ बनाउने अवसरका रुपमा लिने गरेका थिए ।  बिहान ४ नबज्दै आँखा मिच्दै युवा मन्दिर पुगिसकेका हुन्थ्ये । धरानको सिंहदेवी चोकदेखि मन्दिरसम्म(करीब ५०० मिटर) ठूलो भीड हुने गरेको स्थानीयवासी बताउँछन् ।

भोजपुर घर भई धरान बस्दै आउनुभएका उमेश राई नौरथामा साथीभाइसँग रमाइलो गरेर मात्र दशैँ मान्न घर फर्कनुहुन्थ्यो । यस वर्ष उहाँ गत वैशाखदेखि नै भोजपुरमै रहनुभएको छ । नौरथा पूजाको बहानामा धेरै युवकयुवती रमाइलो गर्न मन्दिर निस्कने गरेको स्थानीयवासी बताउँछन् ।

मन्दिरको किंवदन्ती र इतिहास
दन्तकाली मन्दिर धरान– १४ विजयपुर डाँडाको मध्यभागमा छ । मध्यकालमा विजयपुरे कालिकाका नामले चिनिने उक्त मन्दिर शिवले सतीदेवीको मृतशरीर बोकेर हिँड्दा दाँत पतन भई शक्तिपीठका रूपमा स्थापित भएको किंवदन्ती छ ।

मन्दिरमा सतीदेवीका दाँतको प्रती स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । मन्दिरमा बोका, राँगा आदिको बलि दिने चलन छ । नेपाल एकीकरणपूर्व विजयपुर राज्यका सेनवंशी राजाको इष्टदेवीका रूपमा पूजित यो शक्तिपीठको महिमा सदाकाल उस्तै छ । मन्दिर विसं २०३५-०३६ सम्म सामान्य प्रकारको थियो भने हाल भव्य तले शैलीको मन्दिर बनाइएको छ ।

दन्तकाली क्षेत्रमा तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि मेला लागछ । प्रत्येक अष्टमीमा बलिदिने चलन छ । मन्दिर पिण्डेश्वरदेखि करीब ५०० मिटर उत्तरतिर विजयपुर डाँडामाथि पर्छ । रूद्राक्षारण्य महात्म्यमा पनि यसलाई पिण्डेश्वरको वायव्य दिशामा रहेकी देवी भनिएको छ । मन्दिरको मुख्य पूज्य वस्तु पनि दाँत आकारको वस्तु नै हो । यसलाई चाँदीका पाताले मोरेर राखिएको छ ।
धरान चिनाउने धाम
महाभारतकालीन इतिहास बोकेको र पछिल्लो समयमा किरात राजधानीका रुपमा रहेको विजयपुर धरान उपमहानगरको शिर मानिन्छ । पाँच सय वर्ष पहिले बङ्गालका राजाले जीर्णाेद्धार गरेको पिण्डेश्वर मन्दिरका अभिलेख पढ्दा पुरातात्विक, पौराणिक एवं ऐतिहासिक महत्व देखिन्छ । हालको आधुनिक धरान शहर रहेका स्थानमा शुरुमा घना जङ्गल रहेको र फँडानीका क्रममा काठ चिर्ने आरावालाले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान शहरको नामकरण भएको भन्ने भनाइ छ ।

विजयपुरमा धेरैअघिदेखि बसोबास भए तापनि विसं १९५० तिर घनाजङ्गल फँडानी गरेर समतल क्षेत्रमा सानो बस्तीबाट शुरुआत भएको धरान विसं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले चन्द्रनगर (हाल पुरानो बजार) र विसं १९९० तिर जुद्ध शम्शेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको पाइन्छ ।
प्राकृतिक सौन्दर्य
विजयपुरको दन्तकालीबाट धरान बजारको रमणीय दृश्य देख्न सकिन्छ । उपमहानगरपालिकाले मन्दिर नजिकै भ्यू टेशन बनाइदिएको छ । धरानबाट बिहानबेलुका यहाँ आएर आराम गर्ने तथा धरानको दृश्यावलोकन गर्ने गर्छन् ।
प्रातः भ्रमण गर्नेको यहाँ ताँती लाग्छ । यसबाहेक मोरङ जिल्लाका केही भाग र उदयपुर, सप्तरी तथा सुनसरी जिल्लाका इनरुवा, कोशी टप्पु आदि स्थान पनि यहाँबाट प्रष्ट देख्न सकिन्छ । यहाँबाट पश्चिम रहेको सप्तकोशीको दृष्य मनोरम देखिन्छ । यहाँसम्म पुग्नका लागि उपमहानगरपालिकाले सिढिँ बनाइदिएको छ । भानुचोकबाट साना गाडी र टेम्पुमा यहाँ जान सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?