logo
२०७७ कार्तिक ६ बिहीवार

सालको पात बन्यो सहारा: ७० वर्षिया दवाडी भन्नुहुन्छ- 'मागेर खान र उपचार गर्न नपरोस्'

फिचर |
पढ्नै पर्ने |


2020-10-15-24764


अमरराज नहर्की

तनहुँ, असोज २८ गते । दमौलीको कालिका जङ्गल पार्क जाने बाटोमा शरिर स्फूर्त राख्नको लागि ओहोरदोहोर गर्नेको बाक्लो उपस्थिती हुन्छ । त्यही भीडमा झिसमिसे उज्यालोमा नै एक बृद्धा दिनहुँ लौरी टेक्दै उकाली चढ्नुहुन्छ । अन्य शरिर निरोगी राख्न दौडिने, हिड्ने गरे पनि ७० बर्षिया नन्दकुमारी दवाडीको भने बेग्लै कथा छ ।

दवाडी जीवन निर्वाहका लागि सालको पात टिप्न उकाली र ओराली गर्नुहुन्छ । दिनहुँ जङ्गलमा पुगेर सालको पात टिप्ने र दमौली बजारमा बेचेर नुन र तेल किन्नु हुन्छ । कमाएर ल्याउने श्रीमान्को १२ वर्ष अघि मृत्यु भएको र एक मात्र छोराले वास्ता नगरेकोले जीवन निर्वाह गर्नको लागि सालको पात टिपेको वृद्धा दवाडी बताउनुहुन्छ । उहाँका अनुसार एक छोरा एक नाति र एक नातिनी पनि छन् तर कसैले माया गर्दैनन् । ‘छोरोले मलाई डेरामा छाडेर घरज्वाई बस्न गयो, पाउनुको दुःख मात्रै ।’ दवाडीले भन्नुभयो । बिहान पाँच मुठा पात टिप्ने र दिउँसो त्यही बेचेर जीवन धान्ने गरेको दवाडीले बताउनुभयो ।

एउटा मुठाको ५० रुपियाँमा बेच्ने गरेको त्यसैबाट जीवन चलिरहेको उहाँले बताउनुभयो । बढ्दो बुढ्यौलीको घट्दो तागतले गर्दा ठुलो रुखमा चढ्न नसक्दा बोट टिप्ने गरेको धेरै बटुल्न नसकेको उहाँले बताउनुभयो । ‘वृद्धा भक्ताले खान पुग्दैन चार हजार डेरा भाडा तिर्नुपर्छ त्यसैले सालको पात टिपेर जीवन चलाएको छु ।’ दवाडीले भन्नुभयो । शरिर कमजोर बन्दै गएकाले टिप्न समस्या परे पनि विक्रीमा भने समस्या नभएको उहाँ बताउनुहुन्छ ।

दमौलीकी सञ्चारकर्मी अन्जु दाहाल आफूलाई आवश्यक नपरेको बेला पनि सालको पात किन्ने गरेको बताउनुहुन्छ । ‘बुढेसकालमा रहरले नभई बाध्यताले पात बेच्नुपरेको छ आमाले त्यही भएर मलाई आवश्यक नपरे पनि उहाँलाई पैसा चाहिएको होला भनेर देखेको बेला किनिहाल्छु ।’ वृद्धाश्रम जान तथा मागेर खान कतिपयले सुझाव दिए पनि त्यसो नगरेको दवाडी बताउनुहुन्छ । ‘मागेर खान र चन्दा उठाएर उपचार गर्ने अवस्था नओस्, हिड्दा हिड्दै, बोल्दा बोल्दै मर्न पाउँ ।’ बृद्धा दवाडीले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?