logo
२०८० चैत्र १६ शुक्रवार



विमानस्थल निर्माणका लागि विकल्प खोज्दै लगानी बोर्ड

मुख्य समाचार |


विमानस्थल निर्माणका लागि विकल्प खोज्दै लगानी बोर्ड


गोपालचन्द्र सुवेदी

काठमाडौँ, असोज १६ गते । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानी बोर्डले विभिन्न विकल्पको तयारी गर्न लागेको छ । विमानस्थल निर्माणका लागि छानिएको कम्पनी स्विजरल्यान्डको जुरिच एयरपोर्टले दुईपटक थपिएको समयमा पनि आयोजना विकासको विस्तृत प्रस्ताव पेस नगरेपछि बोर्ड अरू विकल्पको खोजीमा लागेको हो ।
जुरिच एयरपोर्टले प्रस्ताव नगरे पनि आयोजना अगाडि बढाउने विषयमा आफूहरू गम्भीर भएर लाग्ने लगानी बोर्डको कार्यालयले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आयोजनालाई अगाडि बढाउने विषयमा बोर्डको आगामी बैठकमा छलफल हुने जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको लगानी बोर्डको बैठकमा यो विषयमा छलफल हुन्छ, त्यसपछि हामी कसरी अघि बढ्ने भन्ने निश्चित हुनेछ, उहाँले भन्नुभयो, “लगानीकर्ता जुटाउने विषयमा हामीले विभिन्न विकल्प तयार गर्दै छौँ । राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न हामी गम्भीर छौँ । ”
बुधबारसम्म विस्तृत प्रस्ताव पेस गरिसक्नुपर्नेमा जुरिचले कोभिड महामारीका कारण उड्डयन उद्योग नराम्ररी प्रभावित भएको कारण देखाउँदै निर्धारित समय सेप्टेम्बर ३० सम्ममा प्रस्ताव पठाउन नसक्ने जानकारी गराएको थियो । जुरिचले दोस्रोपटक थप गरिएको समयसीमामा पनि प्रस्ताव पेस नगरेको हो ।
जुरिचले प्रस्ताव पेस गर्न नसक्ने एक दिनअघि जानकारी गराए पनि आयोजना नबनाउने नै भनेको छैन । बोर्ड कार्यालयका प्रवक्ता धमेन्द्रकुमार मिश्रका अनुसार उसले सेप्टेम्बर ३० सम्म प्रस्ताव पेस गर्न असमर्थ रहेको मात्र जानकारी गराएको छ ।
पत्रअनुसार निर्धारित मितिमा प्रस्ताव पेस गर्न नसकेको मात्र भनिएको छ, उहाँले भन्नुभयो, “समय थप माग गर्ने वा आयोजना बनाउँदैन भन्ने उसले स्पष्ट पारेको छैन । यसको व्याख्या र उपयुक्त निर्णय बोर्ड बैठकले नै लिनेछ । ”
२०७५ चैतमा सम्पन्न लगानी सम्मेलनमा बोर्डले प्रोजेक्ट सो केसमा राखेकामध्ये आकर्षक परियोजनामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परेको थियो । विभिन्न छ अन्तर्राष्ट्रिय कम्पनीले निर्माणका लागि प्रस्ताव गरेकामा गत असोजमा जुरिचलाई चयन गरिएको थियो ।
गत वर्ष असोजमा सम्पन्न बोर्डको ४०औँ बैठकले यो विमानस्थल बनाउन प्रस्ताव गर्ने कम्पनीमध्ये जुरिच इन्टरनेसनल एयरपोर्ट एजीलाई मात्र सङ्क्षिप्त सूचीमा चयन गर्ने निर्णय गरेको थियो । यस आधारमा बोर्डसँग ती बाँकी कम्पनीका प्रस्तावमा छलफल गर्ने, जुरिचसँग नै थप छलफल गर्ने वा पुनः प्रस्ताव आह्वान गर्ने विकल्प छन् ।
एउटै विकासकर्ता लगानीकर्ता कुर्नुपर्छ भन्ने पनि छैन । विभिन्न विकल्प हुन्छन् । एउटा कमजोर देखिँदैमा आयोजना अन्योलमा पर्ने कुरा हुँदैन, मिश्रले भन्नुभयो । आयोजना निर्माणलाई तीव्रता दिनेगरी सरकारले आफ्नै स्रोतबाट आवश्यक पूर्वाधारका काम निरन्तर राख्ने पनि सोच सरकारको छ । विमानस्थल निर्माणका लागि अहिले रुख कटानका लागि तयारी भइरहेको छ ।
बोर्डको प्रस्तावअनुसार सो आयोजना निर्माणका लागि ३.५ अर्ब (बिलियन) अमेरिकी डलर लागत अनुमान छ तर पहिलो चरणमा धावन मार्ग र टर्मिनललगायतका मुख्य संंरचना बनाएर जाँदा १.२ अर्ब डलर लाग्ने अनुमान छ । सरकारले सार्वजनिक निजी साझेदारीको मोडेलमा यो आयोजना विकास गर्न चाहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?