logo
२०८० चैत्र १५ बिहीवार



स्वाब सङ्कलनमा मोबाइल भ्यान परिचालन भएपछि घरघरमै सुविधा

स्वास्थ्य |


स्वाब सङ्कलनमा मोबाइल भ्यान परिचालन भएपछि घरघरमै सुविधा



नवराज कट्टेल
विराटनगर, असोज ११ गते । विराटनगर–१० मानव सेवा आश्रममा आश्रित तीन जना ज्येष्ठ नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यही आश्रममा बस्ने अन्य नागरिक तथा कर्मचारीको स्वाब सङ्कलन गर्नुपर्ने थियो । मानसिक समस्याका कारण सडक सापेक्षिक तथा सडक आश्रित बनेकालाई उद्धार गरेर राखिएको आश्रमका अन्य नागरिकको स्वाब सङ्कलन गराउन त्यति सहज थिएन ।

स्वाब सङ्कलनका लागि आवश्यक चाँजोपाँजो मिलाउन गाह्रो हुने भए पनि आइतबार आश्रम परिसरमै स्वाब सङ्कलन शिविर आयोजना गरियो । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गता भएकाको स्वाब सङ्कलनका लागि माेबाइल भ्यान परिचालन गरेपछि घरघरमै सुविधा विस्तार भएको हो ।

समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको विराटनगर महानगरपालिका भित्र जेष्ठ नागरिक र अशक्तहरूको घरमै पुगेर स्वाब सङ्कलन गर्नका लागि मोबाइल भ्यान प्रयोगमा ल्याएको छ । स्वाब सङ्कलन सेवा सञ्चालनका लागि ल्याइएको यो भ्यान स्वास्थ्य मापदण्ड पूर्ण रहेको छ ।

रोटरी क्लब विराटनगरले महानगरलाई स्वाब सङ्कलन सहजताका लागि माेबाइल भ्यान सहयोग गरेपछि स्वास्थ्यकर्मीसहितको टोली नागरिकको घरमै पुगेर स्वाब सङ्कलनमा परिचालित हुन थालेका हुन् ।  हिँड्डुल गर्न नसक्ने र दीर्घ रोगीहरूको स्वाब सङ्कलनमा समस्या हुँदा माेबाइल भ्यानको प्रयोग गरिन्छ । सङ्क्रमित व्यक्तिको सम्पर्क पहिचानमा परेका नागरिकको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि कोशी अस्पतालमा पुर्याउने माेबाइल भ्यानमा महानगरले स्वास्थ्यकर्मीको टोली घरघरमै खटाउन थालेको हो । माेबाइल भ्यानबाट स्वाब सङ्कलनको काम आइतबारदेखि नै सुरुवात गरिएको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका नागरिक र बढी सङ्क्रमण देखिएको क्षेत्रमा मोवायल भ्यान परिचालन गरिने जानकारी दिनुभयो । यसअघि वडाका सबै नागरिकलाई स्वाब सङ्कलनको लागि जैन भवनलाई केन्द्र बनाइएको थियो । तर, ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएकाहरूलाई त्यहाँसम्म ल्याउनका लागि समस्या परेपछि मोबाइल भ्यानको सेवा शुभारम्भ गर्नु परेको मेयर पराजुलीले बताउनुभयो ।

महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले कुनै स्वास्थ्य समस्या भएर उपचार गराउन अस्पताल पुग्दा पीसीआर रिपोर्ट माग्ने गरिएकोले यस्तोमा अशक्तहरूलाई समस्या परिरहेको बताउनुभयो । उहाँले यदि यस्तो समस्या परेको खण्डमा तत्काल माेबाइल भ्यान परिचालन गरेर स्वाब सङ्कलन गरिने र पीसीआर परीक्षणका लागि कोशीमा पठाउन सकिने सुविधा दिइने बताउनुभयो । तर, यस्तो सेवा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएकाहरूले मात्रै पाउनेछन् ।

विराटनगर महानगरपालिकालाई यसअघि निजी क्षेत्रले एकथान पीसीआर मेसिनसमेत उपलब्ध गराएका छन् । कोशी अस्पतालको प्रयोगशालामा राखिएको यो मेशिनले महानगरपालिकाको नागरिकको स्वाब परीक्षणमा केन्द्रित गरिँदै आएको छ । आइतबार मात्रै विराटनगरमा १३० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ५१ महिला र ७९ जना पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सङ्ख्या हालसम्मकाे उच्च हो । विराटनगर महानगरपालिकाभित्र दुई हजार १८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये ५८४ जना निको भएर डिस्चार्ज भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?