logo
२०८० चैत्र १६ शुक्रवार



कालापानी क्षेत्रमा सशस्त्रको गुल्म शिलान्यास, सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा

फिचर |
पढ्नै पर्ने |


कालापानी क्षेत्रमा सशस्त्रको गुल्म शिलान्यास, सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा


लोकेन्द्र जोशी

दार्चुला, असोज ९ गते । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) ले सीमा सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० छाङ्रु दार्चुलाको भवन शिलान्यास गर्नुहुँदै गृहमन्त्री थापाले सीमाक्षेत्रमा सुरक्षाकर्मी र बीओपी थप हुने क्रममा रहेको जानकारी दिनुभयो ।

भारतले नेपाली भूमि मिच्दै गएपछि आफ्नो भूमिको रक्षाको लागि नेपाल सरकारले गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेकोमा अहिले गुल्ममा स्तरोन्नती गरिएको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार छाङ्रुमा सशस्त्रको गुल्म स्थापना गरिएको गृहमन्त्री थापाले बताउनुभयो । अहिले व्याँसको गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहले नेतृत्व गरिरहनुभएको छ ।

गृहमन्त्री थापाले भन्नुभयो, नेपाल सरकारले भारतद्धारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । नक्सामा समेटिएको भूमि फिर्ता गर्ने र सीमा क्षेत्रमा सुरक्षा उपस्थिती बढाउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ । व्याँसकै तिङ्कर र कौवामा पनि बीओपी स्थापना हुने उहाँले बताउनुभयो ।

गृहमन्त्री थापासँगै व्याँसको छांगरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, दार्चुलाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्ना, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, नेपाली सेनाका सहायक रथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल लगायत १२ जनाको टोली काठमान्डौँबाट नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टरमार्फत छाङ्रु पुगेको हो ।

गृहमन्त्री थापा नेतृत्वको टोली शुक्रबार व्याँसमै बस्ने कार्यक्रम रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । गृहमन्त्री थापाको टोली शनिबार छाङरुबाट सिधै काठमाण्डौं फर्किने कार्यतालिका छ । व्याँसमा बस्दा कालापानी नजिकको कौवा, तिङ्कर लगायतका क्षेत्रमा निरीक्षण गर्ने योजना रहेको जनाइएको छ ।

छाङ्रुमा सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन १० करोड लागतमा बन्नेछ । गत असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा गण स्थापना गरेर खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्याँस गाउँपालिका–१ छाङरुको गागामा सार्ने निर्णय गरेको थियो । व्याँस गाउँपालिकाको छाङ्रु अतिक्रमित क्षेत्र कालापानीभन्दा झण्डै १२ किलोमिटर दक्षिणमा पर्दछ ।

सीमाक्षेत्रमा सशस्त्रको उपस्थिति बढ्दै

दार्चुलामा भारतसंग सीमा जोडिएको व्याँसदेखि लेकम गाउँपालिकासम्म सशस्त्र प्रहरीको उपस्थिति बढ्दै गएको छ । हालसम्म चार स्थानमा सीमा निगरानी चौकी (बीओपी) स्थापना गरिसकेको सशस्त्र प्रहरीले छिट्टै कम्तिमा तीन ठाउँमा बीओपी थप गर्ने तयारी थालेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति एबं प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिनुभयो ।

नेपाल सरकार गृह मन्त्रालयले भारतसँगको सीमा नाका जोडिएको दार्चुलाको दत्तु सीमामा बीओपी स्थापनाका लागि स्वीकृत भइसकेको छ । सशस्त्र प्रहरी बल नेपालले मुलुकका विभिन्न क्षेत्रमा बीओपी स्थापना गर्नुपर्ने भन्दै गृहमन्त्रालयमा पेश गरेको प्रस्ताव अनुसार दार्चुलाको दत्तुको लागि पनि स्वीकृति दिएको गृहमन्त्री रामबहादुर थापाले बताउनुभयो । यसअघि दार्चुलाको लेकम गाउँपालिका–३ लाली, मालिकार्जुन गाउँपालिका–७ जोलजीवि र व्याँस गाउँपालिका–२ दुम्लीङमा बीओपी स्थापना भइसकेको छ ।

भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी नजिकैको व्याँस गाउँपालिका–१ छाङ्रुमा स्थापना भएको बीओपीलाई स्तरोन्नती गर्दै सशस्त्र बल नेपाल नम्बर ५० गुल्म बनाइएको छ । सशस्त्र प्रहरीको चीनसँग सीमा जोडिएको तिङ्करमा बीओपी भवन बनाउन बजेट  विनियोजन भएर टेण्डर आह्वान गरिएको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकैको कौवा क्षेत्रमा समेत सशस्त्र प्रहरीको बीओपी स्थापना गरिने गृहमन्त्री थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?