logo
२०८१ बैशाख ६ बिहीवार



पशुपति मन्दिर खुुला गर्न माग

फिचर |
खुला |


पशुपति मन्दिर खुुला गर्न माग


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । पशुपति क्षेत्र विकास कोषले सामाजिक दूूरी कायम गर्दै भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गर्न सरकारसमक्ष स्वीकृति माग गरेको छ । निषेधाज्ञा फुकुवा भएपछि धेरै भक्तजन पशुपति मन्दिरको दर्शनका लागि पुुग्ने गर्छन् तर प्रवेश निषेध गरिएकाले बाहिरबाटै फर्कन बाध्य छन् ।
कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार सरकारसँग माग गरिएको अनुमति स्वीकृति भएमा सर्वसाधारणको अर्चनाका लागि मन्दिर खुला हुन्छ । कोरोनाका कारण भएको बन्दाबन्दी र निषेधाज्ञाले यो अवघिमा पशुपतिनाथमा आउने ६० करोड रुपियाँ आम्दानी रोकिएको कार्यकारी निर्देशक डा. खतिवडाले जानकारी दिनुभएको छ ।
जनैपूर्णिमा, हरितालिका, बाबुको मुख हेर्ने, हरिपरिवर्तनी एकादशी, सोह्र श्राद्ध, गुलाँ र यलाँ पर्व बन्दाबन्दीका समयमा परेकोले भेटी ठप्प भएको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले मन्दिर बन्द हुँदा करिब ३० करोड रुपियाँ भेटी सङ्कलन प्रभावित भएको बताउनुभयो ।
पशुपतिनाथमा प्रवेश गर्ने चार ढोकमध्ये दुईवटा मात्र चालू गरेर एउटाबाट आगमन र अर्कोबाट बहिर्गमन गरेर भक्तजनको मन बुझाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
कोषको आय रोकिएपछि कर्मचारीले समयमा तलब पनि नपाएको कर्मचारी विष्णुप्रसाद कोइरालाको गुनासो छ भने शवदाहमा खटिएका कर्मचारीलाई सेनिटाइजर, मास्क लगायतका सुरक्षा सामग्री दिनै नसकेको शवदाह कर्मचारी चन्द्रप्रसाद ढकालको गुनासो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?