logo
२०८१ बैशाख ८ शनिवार



चाडपर्व लक्षित सुपथ मूल्य पसल र सामग्री थप्ने तयारी

फिचर |
खुला |


चाडपर्व लक्षित सुपथ मूल्य पसल र सामग्री थप्ने तयारी


सीता शर्मा

काठमाडौँ, असोज ५ गते । दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल थपेर एकीकृत सहुलियत मूल्य पसल सञ्चालनको तयारी थालेको छ ।
यस वर्ष कोभिड­–१९ का कारण भीडभाड कम गर्ने अभिप्रायले सरकारले गत वर्षभन्दा केही पसल थपेर सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल
सञ्चालन गर्ने गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्थानले संयुक्त वा आआफ्नो किसिमले सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दसैँ, तिहारलगायतका चाडपर्व ढिला भएकाले भर्खर तयारी थालिएको बताउनुभयो । दसैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी मन्त्रालयले गृहकार्य थालेको
जानकारी उहाँले दिनुभयो ।
उहाँका अनुसार यसबारे सम्बन्धित सरोकारवालासँग एक÷दुई चरणमा छलफल भइसकेको छ । अब मन्त्रीसँग हुने छलफलले अन्तिम रूप दिनेछ र पसल सञ्चालनका लागि मिति पनि तय गर्नेछ । सहप्रवक्ता केसीले यो वर्ष कोभिड–१९ को स्वास्थ्य जोखिमलाई ध्यान दिएर केही पसल थप्ने गर्नेगरी छलफल गरिएको र थपिने सङ्ख्याको टुङ्गो नलागेको पनि जानकारी दिनुभयो ।
यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यका र सुर्खेतमा सञ्चालन गर्दै आएको अनलाइनमार्फत सरकारले तोकेको सहुलियत मूल्यमा उपभोक्ताको घरसम्म पु¥याइने व्यवस्था हुने पनि मन्त्रालयले जानकारी गराएको छ । खाद्य कम्पनीले अघिल्ला वर्षमा चामल, तीतेफापर, कर्णालीको सिमीको मात्रै कारोबार गर्ने गरेको भए पनि यो वर्षदेखि चामल, दाल, गेडागुडी, तेल, आँटालगायतका खाद्यान्न खरिद गर्ने सुरु गरेको छ र हाल अनलाइनमार्फत पनि यी खाद्यान्न उपभोक्ताको घरसम्म पु¥याउँदै आएको छ ।
मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी र नुनमा सरकारले तोकेको मूल्यमा छुट दिनेछ भने दुग्ध विकास संस्थानले आफ्ना डिलर वा बिक्री केन्द्रमार्फत घिउ, पनिरलगायतमा छुट दिनेछ । कम्पनी, संस्थान र कर्पाेरसनले खाद्यान्नमा छुट दिएबापत सरकारले अनुदानस्वरूप रकम उपलब्ध गराउने छ ।

तीन हजार खसी, बोका र च्याङ्ग्रा ल्याइने
खाद्य कम्पनीले यसपटक दसैँका लागि तीन हजार खसी, बोका र च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको छ । कम्पनीले यसबारेमा यसअघि नै योजना सार्वजनिक गरिसकेको छ ।
तर सरकारले दसैँ, तिहारलाई लक्षित गरेर खाद्य कम्पनीलाई १० हजार मेट्रिक टन चिनी खरिदका लागि स्वीकृति दिएकामा दसैँमा नआउने भएको छ । खाद्य कम्पनीले भने कम्पनी सार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया पु¥याएर खरिद गर्दा समय लाग्ने भएकाले यसपटकको दसैँ, तिहारका लागि खाद्य कम्पनीले चिनी बेच्न नसक्ने जनाएको छ ।
खाद्य कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले चिनी खरिदको स्वीकृति नै ढिला भएकाले सार्वजनिक खरिद ऐनको लामो कानुनी प्रक्रिया पूरा गरेर दसैँ, तिहारअघि चिनी ल्याउन सम्भव नभएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?