logo
२०८० चैत्र १५ बिहीवार



उद्घाटन खेलमा चेन्नईद्वारा मुम्बई पराजित

खेलकुद |


उद्घाटन खेलमा चेन्नईद्वारा मुम्बई पराजित
तस्विर-क्रिकइन्फो


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ४ गते । इन्डियन प्रिमियर लिगको १३ औं संस्करणको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराएको छ । प्रिमियर लिगको अघिल्लो संस्करणको विजेता मुम्बईलाई हराउन चेन्नईका लागि अम्बाटी रायडू र फाफ डु प्लेसिसले उत्कृष्ट पारी खेल्नुभयो ।
मुम्बईले प्रस्तुत गरेको १६३ रनको औसत लक्ष्य चेन्नईले खेल सकिन चार बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा १६६ रन बनाएर पुरा गर्यो । ओपनर शेन वाट्सन र मुरली विजयको रुपमा पहिलो दुई विकेट छ रनमै गुमाएर कमजोर सुरुवात गरेको चेन्नईका लागि रायडूले डुप्लेसिससँग तेस्रो विकेटका लागि ११५ रनको साझेदारी गर्नुभयो । रायडू मात्र ४८ बलमा छ चौका र तीन छक्काको सहयोगमा ७१ रनको पारी खेल्नुभयो । डु प्लेसिसले ४४ बलमा ५८ रन बनाउनुभयो । उहाँ अविजित रहनुभयो । रबिन्दर जडेजाले १० तथा शाम कर्रनले १८ रनको योगदान दिनुभयो । कप्तान महिन्दर सिंह धोनीले दुई बलको सामना गर्नुभएपनि खाता खोल्न सक्नुभएन ।
मुम्बईका लागि ट्रेन्ट बौल्ट, जेम्स पेट्टिन्सन, जसप्रित बुमराह, हार्दिक पाण्ड्या र राहुल चाहरले सामान एक एक विकेट लिनुभयो ।
यसअघि अबुधाबीमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको मुम्बईले पुरा २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १६२ रनको औसत योगफल तयार गर्यो । मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ तथा क्विन्टन डे ककले ३३ रनको योगदान दिनुभयो । १४ ओभरमा चार विकेटको क्षतिमा १२१ रन बनाएको मुम्बईले थप ४१ रन जोड्न महत्वपूर्ण पाँच विकेट गुमाउन पुग्यो । कप्तान रोहित शर्माले १२ रन बनाउनुभयो । चेन्नईका लागि लुगिं एनगिडीले सर्वाधिक तीन तथा दिपक चाहर र रबिन्दर जडेजाले सामान दुई दुई र शाम कर्रन र पीयूष चावलाले एक एक विकेट लिनुभयो ।
रायडू खेलको प्लेयर अफ द् म्याच घोषित हुनुभयो । प्रतियोगिता अन्तगर्त आज हुने खेलमा देल्ही क्यापिटल्सले किंग्स एलेवन पञ्जाबको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?