logo
२०८१ बैशाख ७ शुक्रवार



विद्यालयमा क्वारेन्टाईन, भाडाको सटरमा टोल शिक्षा

शिक्षा |


विद्यालयमा क्वारेन्टाईन, भाडाको सटरमा टोल शिक्षा


नवीन शिशिर विक

बागलुङ, असोज २ गते । कोरोना संक्रमण रोकथाम गर्न सरकारले गत चैत्र ५ गते माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थिगित गरे लगतै विद्यालयका औपचारिक शैक्षिक गतिविधि ठप्प छन् ।

विद्युत, इन्टरनेटको सहज पहुँच हुने क्षेत्रमा वैकल्पिक शिक्षा अन्तर्गत ‘भर्चुअल’ कक्षा संचालन भए पनि विद्युत, इन्टरनेट, मोबाइल, ल्यापटप तथा कम्प्यूटरको पहुँच नहुने क्षेत्रमा ‘भर्चुअल’ कक्षा संचालनमा आउन सकेनन ।
सरकारले वैकल्पिक विधि अपनाएर कक्षा संचालन गर्न आग्रह गरे पछि बागलुङका अधिकांस निजी विद्यालय दैनिक सिमित घण्टा भए पनि अनलाईन कक्षा संचालन गरे । सामुदायिक विद्यालयले टोल शिक्षाको अभ्यास गरेका थिए ।

सामुदायिक विद्यालयका शिक्षकले महामारीमा रचनात्मक शैक्षिक क्रियाकलप संचालन गर्न नसकेको गुनासो भैरहँदा बागलुङको बडिगाड गाउँपालिका–२ दगातुन्डाडामा भने असारदेखि नियमित टोल शिक्षा संचालन भैरहेको छ ।
असार ४ गतेदेखि पठन पाठन सुरु भएको सो क्षेत्रमा भदौ १ गतेदेखि २० गतेसम्म निषेधाज्ञा जारी भए पछि शैक्षिक क्रियाकलप रोकिएको थियो । भदौ २१ गतेदेखि फेरि टोल शिक्षालाई निरन्तरता दिएको त्रिभुवन माविका प्रधानध्यापक ढालमणी भण्डारीले जानकारी दिनुभयो ।

विद्यालयमा क्वारेन्टाईन निर्माण हुँदा खर्वाङ्ग क्षेत्रमा मासिक पन्ध्र सय रुपियाँ दिने गरी दुई वटा सटर भाडामा लिएर कक्षा संचालन गरिएको छ । बजार क्षेत्रमा सटर भाडामा लिएर कक्षा संचालन गरे पनि ग्रामिण क्षेत्रमा भने खाली घर र सार्वजनिक स्थलको प्रयोग गरिएको छ ।

आफ्नो विद्यालय सेवा क्षेत्रको भुगोललाई १५ टोलमा विभाजन गरी टोल शिक्षा संचालन गरेको उहाँले बताउनुभयो । वडा नम्बर– २ को त्रिभुवन मावि, सरस्वती प्रावि, चण्डीथान प्रावि, भगवती प्रावि र रेमलीटोला प्राविले पठन पाठनलाई निरन्तरता दिएका छन् ।

‘पठन –पाठन हुने क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन गर्दै शैक्षिक क्रियाकलप संचालन गरेका छौँ’ प्रधानध्यापक भण्डारीले भन्नुभयो–‘महामारीमा रचनात्मक विधि अपनाउन सकिएन भने तलवले पनि श्रप दिन्छ होला ।’ साउनमा पहिलो त्रैमासिक परीक्षाको तयारी भए पनि निषेधाज्ञाले रोकेको उहाँले बताउनुभयो ।

टोल कक्षामा सहभागी हुन विद्यार्थीले सावुन पानीले हात धुने, मास्कको प्रयोग गर्ने र ह्याड स्यानीटाईजर प्रयोग गर्नुपर्छ । प्रत्येक टोलमा दैनिक दुई जना शिक्षक नियमित उपस्थित हुने र १६ जना विषयगत शिक्षक घुम्ति टोलीको रुपमा दैनिक दुई वटा टोलमा पुग्ने गरेका छन् ।

आठ वटा मोटर साईकलमा १६ जना शिक्षक नियमित टोल टोलमा पुग्ने गर्छन । ‘फरक फरक कक्षाका विद्यार्थीलाई बहुकक्षा शिक्षण विधिमार्फत पठन पाठन गरेका छौँ’ त्रिभुवन माविका शिक्षक कमल पौडेलले भन्नुभयो–‘ नियमित सिकाई, गृहकार्य जस्ता कार्यलाई प्राथमिकता दिएका छौँ ।

विद्यालयले बडिगार्ड गाउँपालिका, गल्कोट नगरपालिका र गुल्मीको मुसिकोटमा समेत टोल कक्षा संचालन गरेको छ । तत्काललाई कक्षा ११ र १२ को सिकाई क्रियाकलप रोकिएको शिक्षक पौडेलले जानकारी दिनुभयो ।
टोलका सामुदायिक भवन, मन्दिर, पार्टीमा विद्यार्थीहरुलाई राखेर विषय बस्तुको सहजिकरण, गृहकार्य जाँच, परियोजना कार्यमा सहभागीता जस्ता कार्य संचालन भैरहेको छ ।

गाउँ पालिकाका सबै वडाका पठन पाठन संचालन गर्ने विषयमा छलफल भैरहेको गाउँपालिका शिक्षा अधिकृत प्रकाश क्षत्रीले बताउनुभयो । बडिगामा ६५ सामुदायिक र ३ संस्थागत विद्यालय रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?