logo
२०८१ बैशाख १३ बिहीवार



स्थगित सेवा पुनः सुचारु हुँदै काठमाडाैं जिल्ला प्रशासन कार्यालयमा

फिचर |


स्थगित सेवा पुनः सुचारु हुँदै काठमाडाैं जिल्ला प्रशासन कार्यालयमा


गाेरखापत्र अनलाइन

काठमाडौं, असोज १ गते । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाका कारण यसअघि स्थगित गरिएका सेवाहरु पुनः सुचारु गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै २०७७ असोज ४ गते आइतबारदेखि लागू हुनेगरी रोकिएका सेवा सुचारु गर्ने बताएको हो ।
प्रत्येक सेवामा दिनको २० जना भन्दा बढी सेवाग्राही नबढ्ने गरी व्यवस्था मिलाइएको प्रशासनले जानकारी दिएको छ । कोरोनाको कारण प्रशासनले यही भदौ २५ गतेदेखि नियमित सेवाहरु स्थगित गरेको थियो ।

सेवाग्राहीले सेवा लिनको लागि कार्यालय आउँदा स्वास्थ्य मन्त्रालयले निर्धारण गरेका मापदण्डहरु अनिवार्य पालना गर्नु पर्ने बताएको छ ।
काठमाडौं महानगरपालिकाका सेवाग्राहीले नागरिकता प्रमाणपत्र, नागरिक प्रतिलिपि, नावालिग परिचयपत्र, हातहतियार दर्ता नवीकरण आदि सेवाहरु आइतबार, मंगलबार, बिहीबार सेवा लिन पाउनेछन् ।

यसैगरी कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले सोमबार, बुढानीलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाका सेवाग्राहीले बुधबार सेवा लिन पाउनेछन । गोकर्णेश्वर, दक्षिणकाली, शंकरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले शुक्रबार सेवा पाउने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
संघ संस्था दर्ता गर्न सोमबार र बुधबारको दिनको लागि व्यवस्था मिलाइएको छ ।

संघ÷संस्था÷नवीकरण आइतबार, मंगलबार, बिहीबार गर्न सकिने भएको छ । पत्रपत्रिका÷छापाखाना दर्ता र विधान संशोधन शुक्रबार गर्न पाइने भएको छ ।
प्रतिलिपि पत्राचार– प्रत्येक दिनको ४ बजे पछि मात्र गर्न सकिने सूचनामा उल्लेख छ । शान्ति सुरक्षाको निवेदन र कानून बमोजिम हुने मुद्दा सम्बन्धी कार्यहरु र सरकारी कार्यालय÷आयोजनासँग सम्बन्धित समन्वय र छलफल सबै कार्यालयको दिनमा हुने बताइएको छ ।

साथै, विपद् व्यवस्थापन सम्बन्धी कार्य पनि सबै कार्यालयको हुनेछ । नागरिकता र नाबालक परिचयपत्र बनाउने हकमा सेवाग्राही र सनाखत गर्ने थप एक जना मात्र कार्यालय परिसरमा प्रवेश गर्न सकिने भएको छ । सेवा लिन आउनु अघि सेवा प्राप्त गर्नको लागि तोकिएका कागज÷ प्रमाण साथमा लिई आउनु पर्नेछ ।
कागज÷ प्रमाण नपुगेमा सेवा दिन नसकिने बताइएको छ । कार्यालयको प्रवेशद्धारमा रहेका सुरक्षाकर्मीलाई सम्पर्क गरी टोकन लिनु पर्नेछ ।
आफनो टोकन र समय अनुसार मात्र कार्यालयमा सेवा लिन आउनु पर्ने प्रशासनले बताएको छ ।

सेवा लिन आउने सेवाग्राहीले अनिवार्य रुपमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नु अनिवार्य बनाइएको छ । रुघा खोकी, ज्वरो जस्ता लक्षण देखिएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिईने भएको छ । कार्यालयको भिडभाड र कोभिड १९ संक्रमणको अवस्था अनुसार उल्लेखित तालिकामा आवश्यक अनुसार थपघट र परिमार्जन गर्दै लगिने प्रशासनले बताएको छ । सेवाग्राहीले सेवा लिन आउँदा अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने छ । परिसरमा रहेको सेनिटाईजर प्रयोग गर्ने वा साबुन पानीले अनिवार्य रुपमा हात धोएर मात्र सेवा लिनको लागि भौतिक दूरी कायम गर्दै आफनो पालो पर्खिनु पर्ने छ ।

मास्क नलगाई कार्यालय परिसर भित्र प्रवेश गरेको पाईएमा साथै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगरेमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप