logo
२०८१ बैशाख ८ शनिवार



नौ करोडमा बनेको फेवा सिल्टेसन ड्याम तीन महिनामा नै बाढीले बगायो, धान खेतीमा नोक्सान

फिचर |
प्रदेश |


नौ करोडमा बनेको फेवा सिल्टेसन ड्याम तीन महिनामा नै बाढीले बगायो, धान खेतीमा नोक्सान


तारा चापागाई
पोखरा, भदौ १७ गते । पोखरा महानगरपालिकाको वडा नं २३ मा रहेको फेवा सिल्टेसन ड्याम निर्माण भएको तीन महिना नपुग्दै भत्किएको छ । निर्माण सम्पन्न भएको तीन महिना नपुग्दै फेवाताल संरक्षणका लागि निर्माण गरिएको सिल्टेसन पोखरी र चेकड्याम भत्किएको हो । अविरल वर्षासँगै आएको बाढीले अँधेरी खोलाको सिल्टेसन ड्यामको ५० मिटर भाग बगाएको छ ।

प्राविधिक कमजोरीका कारण डयाम भत्किन गएको वडा नम्बर २३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीको भनाइ छ । 'महानगरले त इन्जिनियर दिने हो, इन्जिनियरले दायाँ बाायाको सतह हेरेर पर्खा लगाउनुपर्नेतिर ध्यान दिएन । ठेकेदार काममा भएको लापरवाही र महानगरको ध्यान केन्द्रित नहुँदा ड्याम भत्किएको हाे ।’ पराजुलीको दाबी छ ।

प्रदेश कृषि मन्त्रालयले सञ्चालन गरेको जग्गा चक्लाबन्दी कार्यक्रमका अध्यक्ष विष्णुप्रसाद दाहालले भुसंरक्षण र स्थानीयको ५० प्रतिशत सहभागिताका बनाएको पुरानो जलाधारको ड्यामलाई भत्काएर नयाँ ड्याम बनाउँदा अँधेरी खोला वा अहिलेको खहरेखोला सिल्टेसन ड्याम भत्किएको दाबी गर्नुभयो ।
एक हप्तामा थुप्रिएका गिटी बालुवा सफा गर्ने आश्वासन महानगरले दिएको तर सफा गर्न नगर्दा थुप्रिन गर्न ड्याम फुटन गएको दाहालको भनाइ छ । पानीको बहाव अध्ययन गरी संरचना बनाउनुपर्नेमा उचाइलगायत डिजाइन कमजोर हुँदा समस्या सिर्जना भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'दश दिनअगाडि थुप्रिएको गिटी, बालुवा निकाल्न एक्स्काभेटर पठाएको भए यो अवस्था आउने थिएन ।'

पचास वर्षकै ठूलो बाढी आएका कारण थिग्रिएको गिटी बालुवा समयमा निकाल्न नसक्दा समस्या निम्तिएको पोखरा महानगरपालिकाका इन्जिनियर बिमल आचार्यको भनाइ छ । नाै करोड छ लाख लगानीमा बनेको उक्त ड्याम समयअगावै सकिएको उहाँले बताउनुभयो । ‘हामीले सकेसम्म गुणस्तरीय नै बनाएका हौँ, ५० वर्षको अवधिकै सबभन्दा ठूलो बाढी यो वर्ष आयो ।’ थुप्रिएको गिटी बालुवा ग्राभेलले गर्दा ड्यामले भार थेक्न नसक्दा भत्किएको हो । भत्किँदा गुणस्तरहीन भन्ने आरोप गलत रहेको दाबी उहाँले गर्नुभयो । गुणस्तरहीन संरचना नभइ अन्य कारणले समस्या आएको आचार्यको भनाइ छ ।

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले क्षतिको तत्काल प्राविधिकसहितको टोलीले अनुसन्धान गरी कमी कमजोरी पत्ता लगाउने जानकारी दिनुभयो ।

२५० मुरी जेठोबुढो धानमा क्षति

उक्त ड्याम भत्किँदा २५० मुरी जेठोबुढो धानमा क्षति पुगेको प्रदेश कृषि मन्त्रालयले सञ्चालन गरेको जग्गा चक्लाबन्दी कार्यक्रमका सचिव सूर्य भण्डारीका जानकारी दिनुभयो । भण्डारीका अनुसार कार्यक्रमअन्तर्गत अनुदानमा सञ्चालन भएको करिब १५६ रोपनी क्षेत्रफलमा रहेको धानखेत बगरमा परिणत भएको छ । गत वर्षदेखि शुरुवात गरेको जेठोबुढो धानले यो वर्ष २०० सय रोपनीमा १५६ रोपनी बगरमा परिणत भयो । 'सुधारिएको जेठोबुढो लगाएका थियौँ, जसलाइ प्रदेशको ज्ञान केन्द्रले बीउ उत्पादन गर्दा १४ हजार प्रतिमुरी दिएको थियो । यो वर्ष पनि धेरै बीउ उत्पादन गर्ने योजना थियो तर सफल भएन ।' उहाँले भन्नुभयाे । भण्डारीले प्रदेश सरकारको प्राविधिक टिमले क्षतिको निर्धारण गर्ने जानकारीसमेत गराउनुभयो ।

त्यसैगरी ड्याम बगाउँदा खोलाले बाटो परिवर्तन गएको छ जसले खिमलाल भण्डारीको कुखुरा फार्ममा ३५० बढी कुखुरा २० बोरा दाना बाढीले बगाएको छ । गाडीको व्यवसाय पनि गर्दै आउनुभएका भण्डारी कोरोनाको असरले गाडी व्यवसाय बन्द हुँदा कृषितिर लागेको बताउनुभयो । 'उता भएन भनेर यता लागेँ । सबै नास भयो । राहत माग्न कता जाने ? झन्झिटिलो प्रक्रिया हुने होला । बस्तीको ख्याल नगरी ड्याम निर्माण गर्दा समस्या उत्पन्न भयो ।' उहाँले भन्नुभयाे । 
फेवाताल जलाधार संरक्षण कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिको २३ र २४ वडाअन्तर्गत पामेको बेतेनी खोला, लौरुक खोला, हर्पन खोला र अँधेरीखोलामा ड्याम निर्माण गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?