logo
२०८० चैत्र १६ शुक्रवार



थप कोरोना सङ्क्रमण फैलिन नदिन कामपा-१४ सिल

समाज |


थप कोरोना सङ्क्रमण फैलिन नदिन कामपा-१४ सिल


काठमाडौँ, साउन ३१ गते ।
काठमाडौँ महानगरपालिका–१४ ले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा सङ्क्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिएको छ ।

वडा कार्यालयले हाल सञ्चालन गर्दै आएका दैनिक प्रशासनिक कार्य आगामी भदौ १० गतेपछि अवस्था हेरी पुनःसञ्चालन गर्न सकिने जनाएको छ । भीडभाड कम गर्न बैंक तथा वित्तीय क्षेत्रका केही कार्यालयलाई बन्द तथा केही शाखालाई आंशिक सञ्चालन गर्न निर्देशन दिइएको छ ।

अत्यावश्यकीय सेवाभित्र पर्ने वस्तु आपूर्ति गर्न बिहान ५ देखि ९ बजेसम्म सेवाप्रदायक संस्थालाई समय तोकिएको छ ।स्थानीयवासीको सुरक्षालाई दृष्टिगत गर्दै टोलमा सरसफाइ, औषधि छर्काइ तथा सचेतना अभिवृद्धिका लागि माइकिङ गर्नेलगायत कार्यसमेत भइरहेको छ ।
वडा कार्यालयले स्थानीय उपभोक्ता समिति, विभिन्न क्लब, सामाजिक सङ्घसंस्था, समूहका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई समावेश गरी सम्बन्धित क्षेत्रमा अनुगमन गर्ने तथा अनावश्यक भीड गर्ने र पसल खोल्ने व्यवसायीलाई कारबाही गरिने व्यवस्था गरेको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो । वडामा अहिलेसम्म ४२ कोरोना संक्रमित फेला परेका छन् ।

कामपा कार्यालयसँग समन्वय गरी वडा कार्यालयले बल्खु, टेकुसीलगायत स्थानमा निःशुल्क पिसिआर परीक्षण गराएको तथा अन्य स्थानमा समेत परीक्षण बढाउन प्रयास गरेको वडाअध्यक्ष सापकोटाले बताउनुभयो । वडा कार्यालयले आफ्ना वडावासीलाई सामन्यावस्थामा घरदेखि बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र अति नै आवश्यक कार्यमा निस्कँदा दूरी कायम गरी सुरक्षाका उपाय अपनाउन आग्रहसमेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?