logo
२०८० चैत्र १६ शुक्रवार



सुनसेरा–टिङ्कर सडक परामर्शदाता चयन प्रक्रिया सुरु

फिचर |
मुख्य समाचार |


सुनसेरा–टिङ्कर सडक परामर्शदाता चयन प्रक्रिया सुरु


भउचप्रसाद यादव

काठमाडौँ, साउन ३० गते । महाकाली कोरिडोर अन्तर्गतको दार्चुला–टिङ्कर सडकको सुनसेरादेखि टिङ्कर भञ्ज्याङ खण्डको निर्माण गर्न परामर्शदाता चयन प्रक्रिया अगाडि बढेको छ । सो सडकको विस्तृत इन्जिनियरिङ सर्भे, डिजाइन, रेखाङ्कन तथा कुल निर्माण खर्च तय गर्न परामर्शदाता चयन गर्न आशय पत्र माग गरिएको छ । उक्त सडक निर्माणको जिम्मा पाएका नेपाली सेनाले बिहीबार एक सूचना जारी गरी आशय पत्र माग गरेको हो ।
सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले दार्चुला–टिङ्कर सडक निर्माणलाई अगाडि बढाउने बताउनुुभयो । त्यसका लागि सो सडकको विस्तृत् इन्जिनियरिङ सर्भे, डिजाइन, रेखाङ्कन तथा कुल निर्माण खर्च तय गर्न परामर्शदाता चयन गर्न आशय पत्र माग गरिएको उहाँले स्पष्ट पार्नुुभयो । नेपाली सेनाका अनुसार राष्ट्रिय स्तरका परामर्शदाता कम्पनीले भदौ १२ गतेसम्म आशय पत्र पेस गर्न सक्नेछन् ।
प्रवक्ता पौडेलले अहिले परामर्शदाता चयन गर्न आशय पत्र माग गरिएको छ, छनोट भएका आशय पत्रबाट प्रस्ताव माग गरिनेछ भन्नुभयो । परामर्शदाता चयन गर्न आशय पत्र माग प्रक्रियाको पहिलो चरण हो । आशय पत्र दिएकामध्ये तीनदेखि छवटा कम्पनीलाई प्रस्तावका लागि छनोट गर्न सकिने उहाँले बताउनुभयो ।

सेनाको टोली टिङ्करमा
यसैबीच सो सडक निर्माण गर्न नेपाली सेनाको प्राविधिक टोली दार्चुला पुगेको छ । नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ सदस्यीय टोली काठमाडौँबाट दार्चुलाको खलङ्गा पुगेको सैनिक प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को वैशाख १४ गतेको बैठकले व्यास गाउँपालिका–२ स्थित घाँटीबगरदेखि टिङ्करसम्म सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । उक्त सडक खण्डको कुल लम्बाइ ८७ किलोमिटर छ ।
प्रवक्ता पौडेलले सेनाको टोलीले त्यहाँ दुईवटा क्याम्प स्थापनाका साथै निर्माण कार्य अगाडि बढाउन आवश्यक पूर्वाधार तयार गर्नेछन् । निर्माण कार्य सम्पन्न नभएसम्म टोली त्यहीँ रहनेछ भन्नुभयो । आठवटा गाडीमा सडक निर्माण गर्न आवश्यक सामग्री र उपकरणसहित सेनाको टोली त्यहाँ पुगेको हो । सो सडक निर्माण गर्न चालू आर्थिक वर्षमा पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरिएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?