logo
२०८१ बैशाख ७ शुक्रवार



मलङ्गवा नगरपालिकाका दुई इन्जिनियरसहित २१ जनामा कोरोना सङ्क्रमण

फिचर |
समाज |


मलङ्गवा नगरपालिकाका दुई इन्जिनियरसहित २१ जनामा कोरोना सङ्क्रमण



जनार्जन खत्री
सर्लाही, साउन २६ गते । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिकामा कार्यरत दुई जना इन्जिनियरसहित २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नगरपालिकाको वडा नं. १० र ११ मा घर रहेका सिभिल इन्जिनियर र उर्जा इन्जिनियरमा सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिनुभयो । मलङ्गवाबाट गत शुक्रबार १३९ जनाको थ्रोट स्वाब सङ्कलन गरी जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमध्ये २१ जनाको पोजिटिभ रिपोर्ट आएको हो ।
सङ्क्रमित दुवै इन्जिनियरलाई तत्काल आ–आफ्नो घरमै आइसोलेटेड भई बस्न भनिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभएको छ । कोरोना महामारीकै बीच सेवामा खटिने नगरका कर्मचारी, स्वास्थ्यकर्मी, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणको थ्रोट स्वाब लिएर परीक्षण गराइरहेको मलङ्गवा नगरपालिकाले जनाएको छ ।
सोमबार थपिएका २१ जनासमेत गरी सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ । जिल्लाका विभिन्न पालिकाहरूले पछिल्ला दिनमा कोरोना परीक्षणको दायरा बढाउँदै लगेका छन् ।
सोमबार मात्रै उत्तरी भेगको लालबन्दी नगरपालिकाले १२३ जनाको थ्रोट स्वाब लिएको छ । आइसोलेसनमा बसिरहेका दुई जना सङ्क्रमितसहित जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र सेवाग्राहीको बढी भिडभाड हुने कार्यालयका कर्मचारीहरूको स्वाब लिई परीक्षणका लागि बाग्मती प्रदेश सरकारले हेटौँडामा सञ्चालन गरेको प्रयोगशालामा पठाइएको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
यस्तै, हरिवन नगरपालिकामा पनि सोमबार साँझसम्म थ्रोट स्वाब सङ्कलनको काम जारी छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, व्यापारी र भीडभाडमा रहेर काम गरेकाहरूसमेत गरी करिब चार सय जनाको स्वाब लिने योजना रहेको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक शशीकान्त सिंहले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?