logo
२०८० चैत्र १५ बिहीवार



कर्मचारीको आवागमनमा साउन ३२ गतेसम्म रोक, प्रहरी हवल्दारमा सङ्क्रमणपछि चौकी सिल

फिचर |
खुला |


कर्मचारीको आवागमनमा साउन ३२ गतेसम्म रोक, प्रहरी हवल्दारमा सङ्क्रमणपछि चौकी सिल


राममणि दाहाल
हेटौँडा, साउन २३ गते । मकवानपुर जिल्लामा पछिल्ला दिनहरूमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै स्थानीय प्रशासनले जिल्लाभित्र आउन र बाहिर जान कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सरकारी तथा निजी कार्यालय एवं सङ्घसंस्थाहरूमा कार्यरत कर्मचारीहरूको मकवानपुरबाट अन्य जिल्लामा र अन्य जिल्लाबाट हुने आवागमनलाई रोक लगाएको छ ।

कोभिड १९ सङ्क्रमणको जोखिम दिनानुदिन बढिरहेको र सङ्क्रमण समुदायस्तरमा फैलन सक्ने सम्भावना रहेको भन्दै सङ्क्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि साउन ३२ गतेसम्मका लागि कर्मचारीहरूको जिल्लाभित्र र बाहिर हुने आवागमनमा रोक लगाउने बैठकले निर्णय गरेको हो । बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका उद्योग, कलकारखाना र व्यवसायका लागि अन्य जिल्लाबाट साउन ३२ गतेसम्म श्रमिक तथा कामदार ल्याउन पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बन्दाबन्दी अन्त्य भएपछि हेटौँडा बजार क्षेत्रमा मानिसहरूको भिडभाड बढेकोले बजार क्षेत्रका स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा भए नभएको अनुगमन गरी न्यूनतम मापदण्ड पूरा नगर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमणको उच्च सम्भावना देखिएकोले स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य जाँच बढाउन स्थानीय तहलाई अनुरोध गर्ने बैठकले गरेको छ ।

यसअघि केन्द्रको बैठकले पैदल यात्रुहरूलाई मास्क नलगाएको अवस्थामा सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको थियो । शुक्रबार नै जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै जिल्लाभित्र अनावश्यक आवतजावत र भिडभाड नगर्न–नगराउन, बाहिर निस्किनुपर्ने अवस्थामा दुई मिटरको सामाजिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको छ । सूचनामा स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना नगरेमा वा विपरीतका क्रियाकलाप गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख छ ।

यसैबीच, प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि हेटौँडा उपमहानगरपालिका १६ हटियास्थित अस्थायी प्रहरीचौकी सिल गरिएको छ । प्रहरी चौकीमा कार्यरत पुरुष प्रहरी हवल्दारसहित दुई जनामा बिहीबार कोरोना पुष्टि भएको थियो । सीता भवनमा बस्दै आएका दम्पतीमा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले व्यावसायिक भवन रहेको सीता भवन सिल गरेको थियो । अर्का कोरोना पुष्टि भएका हेटौँडा-६ का ४९ वर्षीय पुरुष जितपुरसिमरा उपमहानगरपालिकामा रहेको हुलास स्टिलमा काम गर्दै आएको जनाइएको छ । दुवै जनालाई उपचारका लागि आइसोलेसन कक्षमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता इन्द्रबहादुर रानाले नागरिक र प्रहरीको स्वास्थ्य सुरक्षा सावधानीका लागि चौकी सिल गरिएको जानकारी दिनुभयो । ३१ वर्षीय प्रहरी हवल्दारमा कोरोना पुष्टिसँगै स्वास्थ्यकर्मीको टोलीले चौकीमा कार्यरत अन्य छ जना प्रहरीको स्वाब सङ्कलन गरेको छ ।

उता, मकवानपुरगढी गाउँपालिका वडा नं. ३ र ५ का गरी दुई जनामा कोरोना सङ्क्रमण भएपछि गाउँपालिकाभित्र सवारी सञ्चालनमा रोक लगाउने गाउँपालिकाले निर्णय गरेको छ । बैठकले अति आवश्यक दैनिक उपभोग्य सामग्री, दुग्ध पदार्थ, फलफूल, तरकारी, पशुजन्य पदार्थ, खाद्यान्न, विरामी बोक्ने सवारी साधनबाहेक अन्य सवारी बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम समन्वय समितिको बैठकले सवारी सञ्चालनमा रोक लगाउनुका साथै मकवानपुरगढी गापा ५ भालुखोला क्षेत्र एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो ।

यस्तै, भीमफेदी गाउँपालिका वडा नं. १ को कार्यालयले हेटौँडा–भैँसे सडक खण्डअन्तर्गत त्रिखण्डी मन्दिर र राप्ती खोलाको तट क्षेत्रमा नुहाउन आउन रोक लगाएको छ । वडाध्यक्ष श्यामकुमार बलले एक सूचना जारी गर्दै वडा अन्तर्गतको रातोमाटे पुलमाथिको खोल्ची, त्रिखण्डीको नागपोखरी, झरना, बाघझोरा क्षेत्रमा नुहाउन आएका कारण भिडभाड बढेसँगै कोभिड १९ को सङ्क्रमणको जोखिम बढेकोले स्थान र आवतजावतमा अर्को सूचना नभएसम्मका लागि रोक लगाइएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?