logo
२०८१ बैशाख ११ मंगलवार



३४ स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा रहँदा गजेन्द्रनारायण सिंह अस्पतालकाे सर्जिकल र आकस्मिक सेवा बन्द

फिचर |
स्वास्थ्य |


३४ स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा रहँदा गजेन्द्रनारायण सिंह अस्पतालकाे सर्जिकल र आकस्मिक सेवा बन्द


माला कर्ण/देवराम यादव
सप्तरी, साउन २३ गते । सप्तरीमा ३४ जना स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा बसेपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको शुक्रबार बिहानदेखि सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको छ ।

सात जना स्वास्थ्यकर्मी आइसोलेसनमा र चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा भर्ना भएका कारण सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिनुभएको छ । स्वास्थ्यकर्मी सङ्क्रमित हुँदै जाने र अर्कोतिर आकस्मिक कक्ष, ओपीडी, इन्डोर र गाइनोका साथै आइसोलेसनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्थितिका कारण जनशक्तिको चरम अभाव भएको कारण सेवा ठप्प गर्नुपरेको उहाँले बताउनुभयो ।

सात दिनमा सात जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएको र उनीहरूको सम्पर्कमा आएका चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्दा जनशक्तिको चरम अभाव भई स्वास्थ्य सेवा प्रभावित भएको डा. झाको भनाइ छ । एनेस्थेटिस्टका डाक्टरसमेत क्वारेन्टाइनमा रहेका कारण गाइनोमा पनि शल्यक्रिया सेवा पनि बन्द भएको उहाँले बताउनुभयो ।

बाँकी रहेका पाँच जना चिकित्सक र चार जना स्वास्थ्यकर्मी सहित नौ जनाको भरमा अस्पताल सञ्चालन गर्न कठिनाइ भएको उहाँको भनाइ छ ।
दैनिक रुपमा सप्तरीमा सङ्क्रमित फेला पर्दै गएपछि स्थानीय प्रशासनले जिल्लाभर साउन २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जसकारण बजारहरू सुनसान बनेको छ भने जनजीवन कष्टकर बन्दैगएको छ । जिल्लामा शुक्रबारसम्म सङ्क्रमित ५५७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?