logo
२०८१ बैशाख ८ शनिवार



नेपालकै लामो झोलुङ्गे पुल खुला ‘अब एक घण्टाको यात्रा १० मिनेटमा’

प्रदेश |
फिचर |


नेपालकै लामो झोलुङ्गे पुल खुला ‘अब एक घण्टाको यात्रा १० मिनेटमा’


गलकोट, साउन १८ गते । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन् ।

गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे पुलको निर्माण गत वैशाखमै सम्पन्न भए पनि हस्तान्तरण नहुँदा सर्वसाधारणलाई खुला गरिएको थिएन । पुल खुला भएसँगै पर्वत जिल्लाको कुश्मा नगरपालिका र जलजला गाउँपालिका र बागलुङ बजाको यात्रा छोटिएको छ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । पुल बनेपछि बागलुङ जिल्ला सदरमुकामबाट पाङ अदुवाबारी पुग्न एक घण्टा बढी पैदलयात्रा गर्नुपर्नेमा पुलबाट १० मिनेटमै पुग्न सकिने पाङ सुवेदीथर माध्यमिक विद्यालयका प्रधानध्यापक दीपक सुवेदीले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका–१ रामरेखाबाट कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुल गत वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हालसम्म सञ्चालनमा आएको थिएन । लकडाउन हटेसँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गर्न थालेको छ । पुल हस्तान्तरण प्रक्रिया शुरु भएको जनाउँदै सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले शुक्रबारदेखि पुल खुला गर्न अनुमति दिएको हो । पुल सञ्चालनमा आएपछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई समेत यस पुलले आकर्षित गर्नेछ ।

पुल खुला गरेपछि शुक्रबारदेखि पुल अवलोकन गर्नेको भीड नै लागेको छ । शुक्रबारदेखि खोल्नका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट जानकारी आएका कारण पुल सञ्चालन गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडाँैका सिनियर डिभिजन इञ्जीनियर हुमाकान्त मिश्रले पुल निर्माण सम्पन्न भएपश्चात सबै प्राविधिकरूपमा अध्ययन र परीक्षण गरिएकाले अब हस्तान्तरण गर्ने अन्तिम तयारीमा रहेको जनाउँदै पुल सञ्चालन गर्न भनिएको बताउनुभयो । “पुलको प्राविधिक परीक्षण ग¥यौँ, अब अफिसियलरूपमा हस्तान्तरणको काम गर्दा एक हप्ता लाग्छ होला, पुल सञ्चालन तथा संरक्षणको जिम्मा स्थानीय तहले समन्वयका आधारमा गर्नेछ”, उहाँले भन्नुभयो ।

ठेक्का सम्झौताभन्दा तीन महिनाअघि नै पुल निर्माण सकिएको थियो । पुल हस्तान्तरण नहँुदा तीन महिनादेखि पुलको रेखदेख मात्रै गरेर राखेको पुल निर्माणको जिम्मा पाएको थानी÷बिएलटी÷हिमशिखर कन्ट्रक्शनका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो । “हामीले लकडाउनमा समेत पुल निर्माण रोकेनौँ”, उहाँले भन्नुभयो, “वैशाखको शुरुमै निर्माण सकिएको पुल वैशाख ९ गते हस्तान्तरणको तयारीमा थियौँ, लकडाउनले समस्या ल्यायो, अब पुल हस्तान्तरण गर्न थालेका छौँ, तर कार्यालयले शुक्रबारदेखि पुल खोल्न भनेको छ ।” उहाँका अनुसार झोलुङ्गे खुला प्रकृतिमा ५७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलोपटक निर्माण गरिएको हो । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ ।

विसं २०७५ चैतदेखि शुरु भएको पुल निर्माणकार्य आगामी २०७७ असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिनाअगावै पुल निर्माण सम्पन्न भएको थियो । पहिलोपटक निर्माण थालिएको लामो पुल निर्माणमा ठूलो चुनौती भए पनि सबैको सहकार्यमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । उक्त निर्माण कम्पनीले पहाडी भेगका खोच तथा नदीमा लामा झोलुङ्गे पुल निर्माण गर्दै आएको खड्काको भनाइ छ । पुलको एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता रहेको छ ।

विसं २०५९ देखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भए पनि लठ्ठा तान्न नसक्ने जनाउँदै काम शुरु हुनसकेको थिएन । रु ४० लाखमा लठ्ठा तान्ने औजार चीनबाट खरिद गर्न अर्थ मन्त्रालयले स्विकृति दिएपछि पुल निर्माण थालिएको थियो । अहिलेसम्म नेपालमा सात हजार ५०० बढी झोलुङ्गे पुल छन् । शुरुमा रु १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने औजार मन्त्रालयले उपलब्ध गराउने भएपछि रु छ करोड ९१ लाखमा सम्झौता भएको थियो ।

आवास भवन निर्माण

धवलागिरि अस्पताल बागलुङले अस्पतालमा सेवारत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि सुविधा सम्पन्न आवास भवन निर्माण गरेको छ । गण्डकी प्रदेश सराकारको रु दुई करोड पाँच लाखको लागतमा निर्माण गरिएको दुई पक्की भवनमा १२ स्वास्थ्यकर्मीको परिवार बस्न मिल्ने अस्पतालले जनाएको छ । चिकित्सक आवासको अभावमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नबस्ने समस्यालाई समाधान गर्न चिकित्सक आवास भवन निर्माण गरेको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो ।

एक मेडिकल सुपरिटेन्डेन्टसहित २१ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा नयाँ निर्माण भएको स्वास्थ्यकर्मीको आवासले स्वास्थ्यकर्मीलाई सहज हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा नयाँ निर्माण भएको १२ परिवारको आवाससहित ३८ भन्दा बढी स्वास्थ्यकर्मीका परिवार बस्न मिल्ने आवास छन् ।

अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न आवासमा राख्दा अस्पतालले प्रदान गर्ने स्वास्थ्य सुविधालाई गुणस्तरीय बनाउन सहज हुने अस्पताल विकास समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिनुभयो । “अझै पनि कतिपय चिकित्सकलाई भाडामा राखेका छौँ”, उहाँले भन्नुभयो, “गुणस्तरीय सेवाका लागि चिकित्सकलाई सेवा सुविधा दिनु नै पर्दछ, अस्पतालको आफ्नै आवासगृह हुँदा बिरामीलाई आवश्यकतानुसार चिकित्सकले सेवा दिन सकिन्छ ।”

विगतका वर्षमा अस्पतालमा आएका चिकित्सक नबस्ने परिपाटी रहेकामा हाल सबै चिकित्सक र स्वास्थ्यकर्मीका लागि सुविधासम्पन्न आवासमा राख्दा सेवारत स्वास्थ्यकर्मी लामो समयसम्म यहाँ बस्ने अपेक्षा अस्पतालले लिएको छ । दुई वर्ष पहिला शुरु भएको आवास निर्माण बन्दाबन्दीकै बीचमा सम्पन्न भएर हस्तान्तरण गरिएको चिकित्सक आवास निर्माणको जिम्मा लिएको जुम्ली÷तिलक जेभीका आधिकारिक प्रतिनिधि भूपेन्द्र खड्काले जानकारी दिनुभयो ।

अस्पतालले स्वास्थ्यको गुणस्तर वृद्धि गर्नका लागि स्वास्थ्यकर्मीको सेवासुविधालाई समेत बढाउँदै लैजाने जनाउँदैै अस्पताल स्वास्थ्यकर्मीका लागि गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयले बजेट विनियोजन गरेको थियो । पछिल्लो समय अस्पतालले भौतिक तथा आवश्यक उपकरणको जोहो गर्दै स्वास्थ्य सेवालाई विस्तार गरिरहेको छ । अस्पतालले हालै मात्र आफ्नै अक्सिजन प्लान्ट, लिफ्ट तथा आइसीयू सेवालगायतका नयाँ सुविधा थप गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?