logo
२०८१ बैशाख ८ शनिवार



ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयलाई आउजाउमा समस्या

फिचर |
प्रदेश |


ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयलाई आउजाउमा समस्या



शेरबहादुर सार्की
बाजुरा, साउन १७ गते । साउनमा लगातार परेको अविरल वर्षाका कारण बाजुराका अधिकांश ग्रामीण सडकको छेउछाउमा पहिरो गएपछि बाटो बन्द हुँदा स्थानीयलाई आउजाउ गर्न निकै समस्या भएको छ ।

बाजुराका नौ वटै स्थानीय तहका दर्जनभन्दा बढी ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । दुइ सातादेखि परेको वर्षाले विभिन्न स्थानीय तह जोड्ने सडकको छेउछाउमा पहिरो आउन थालेपछि एउटा स्थानीय तहबाट अर्को स्थानीय तहसम्म चल्ने यातायात सेवामा पनि अवरोध आएको छ । छेडेदह गाउँपालिका –२ का स्थानीय जैधु नेपालीले भन्नुभयो, 'हिउँदमा यातायातको सुविधा हुँदा नुन तेल, दाललगायत खाद्य सामग्री सस्तो मूल्यमा पाइन्थ्यो, अहिले गाडी चल्न बन्द भएपछि त्यसको मूल्य निकै बढेको छ ।'

उहाँले भन्नुभयो, 'सडक सुचारु हुँदा गाउँमा कोही बिरामी भयो भने जीपको कुरा हुन्थ्यो र जीपमा हालेर सीधै अछामको बयलगडामा लगिन्थ्यो, अहिले बिरामी भएपनि स्ट्रेचर र डोकोको कुरा हुन्छ, अनि बिरामीलाई मानिसले त्यसैमा राखेर अस्पतालमा लगिन्छ ।'

हिउँदमा बाजुराका सबै स्थानीय तहमा यातायाताको पहुँच पुगेको भएपनि बर्खामा भने दर्जनभन्दा बढी ग्रामीण सडक बन्द हुँदैगएका छन् । जिल्लाको पूर्वी-उत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामी कार्तिक, जगनाथ, बुढीनन्दालगायत स्थानीय तहका ग्रामीण सडक वर्षाले तलमाथिबाट पहिरो आउन थालेपछि बन्द भएका हुन् । बडीमालिकाको रजाली, भौनेरा, पीनालेख हुँदै गौमुलका अधिकांश ग्रामीण सडक पहिरोकै कारणले बन्द भएका छन् ।

त्यसैगरी, त्रिवेणीको पैमा, छतारा, पन्धारा तोली, पुर्वतालगायतका ग्रामीण सडक पनि वर्षाले बिग्रिएपछि खाद्यान्न सामग्री लिएर गएका सवारी साधन त्रिवेणीको मौरेमा नै ठप्प भएका छन् । डाब खप्तड पर्यटन सडक अन्तर्गत पर्ने कालाआम, साल्गाडी, तथा मानीभुँवालगायत ठाउँमा पहिरो गएपछि खप्तड छेडेदह गाउँपालिकाको काँडा र जयवागेश्वरीमा चल्ने सवारी साधान साधन डाब बजारमा नै रोकिएका छन् ।

बुढीगङ्गा नगरपालिकाको –८ को बेतालमाण्डौदेखि खप्तड छेडेदह गाउँपालिकाकाे टम्टाना, लिसान, गुदुखाती हुँदै डोगडीसम्म सुचारु भएका ग्रामीण सडक बन्द भएका छन् ।
छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले भन्नुभयो, 'बर्खामा पानी पर्न नरोकिएको कारण सडक सुचारु गर्न सकिएको छैन । पानी रोकिएलगत्तै भत्किएको ठाउँमा डोजर लगाएर तुरुन्तै सडक सुचारु गर्ने योजना छौँ ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?