logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना महामारी अन्त्यको प्रार्थना गर्दै भौतिक दूरीसहित बकरइद मनाइयो

फिचर |
समाज |


कोरोना महामारी अन्त्यको प्रार्थना गर्दै भौतिक दूरीसहित बकरइद मनाइयो
स्थानीय ईदगाहमा नमाजपछि अंकमाल नगरेरै तस्बिर खिचाउँदै समुदायका अगुवा ।



सिराज खान
नेपालगञ्ज, साउन १७ गते । बाँकेका मुस्लिम धर्मावलम्बीहरूले भौतिक दूरीको पालना गर्दै कोरोना महामारीको अन्त्य छिट्टै अन्त्य होस् भनेर सामूहिक प्रार्थना गरेर बकरइद पर्व मनाएका छन् ।
कोभिड-१९ महामारीका कारण मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकरइदलाई बाँकेमा विगतझैँ धुमधामका साथ नमनाएर सबैले आ–आफ्नो घरमा धार्मिक कार्यहरू पूरा गरेर मनाएका छन् ।

स्थानीय जामा मस्जिद तथा इदगाह सञ्चालक समितिका महासचिव ईरफान सिद्दीकीले शनिबार नेपालगञ्ज बीपीचोकस्थित इदगाहमा सामाजिक दूरी र स्वास्थ्य मापदण्डको पालना गर्दै बकरइदको सामूहिक नमाज पढाइएको बताउनुभयो ।

उहाँले सो अवसरमा कोभिड १९ महामारीको अन्त्यका लागि विशेष सामूहिक प्रार्थना गरिएको पनि बताउनुभयो । कारी ईबरार अहमदले बकराइदको सामूहिक नमाज पढाउनुभएको थियो । उहाँले कोभिड १९ महामारीबाट सचेत रहन, भौतिक दूरी कायम राख्न र मास्कलगायत स्वास्थ्य सुरक्षा अपनाउन सबैलाई आगह गर्दै महामारीको अन्त्यका लागि विशेष प्रार्थना गर्नुृभयो ।

इदगाहमा नमाज पढ्न आउनुभएका पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले भौतिक दूरी अपनाउनुका साथै अनिवार्य मास्क लगाएर कोरोनाको समाप्तिका लागि र्इदगाहमा नमाज र विशेष प्रार्थना गरिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सरकारले तयार गरेको स्वास्थ्य सुरक्षाका नियमहरूलाई सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्वलाई तीन दिनसम्म मनाउने गरिए पनि यस पटक आइतबारदेखि नेपालगञ्जमा निषेधाज्ञा लाग्ने भएको हुँदा पर्वलाई एक दिनमै सीमित गरिने भएको छ । यो पर्वमा अङ्कमाल गरेर एकअर्कालाई शुभकामना दिने परम्परा रहे पनि यस पटक कोभिड १९ का कारण एक मिटरको दूरीबाटै सबैले एकअर्कालाई शुभकामना दिएका छन् ।

शनिबार अधिकांश मुस्लिमले आ–आफ्नो घरमा खसी र भेडा काटेर चढाएको गराएको मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो । बलि दिइएको पशुको मासु तीन भाग गरी एक भाग गरिब, एक भाग छरछिमेक र एक भाग घरमा पकाएर आफू र आफन्तलाई खुवाउने प्रचलन रहेको पनि उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?