logo
२०८१ बैशाख ७ शुक्रवार



सङ्क्रमित देखिएकै ठाउँमा गएर नमूना सङ्कलन गरिने

फिचर |
पढ्नै पर्ने |


सङ्क्रमित देखिएकै ठाउँमा गएर नमूना सङ्कलन गरिने


काठमाडौँ, साउन १५ गते । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । बन्दाबन्दी खुलेसँगै बाहिरबाट भित्रिने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा दैनिक सङ्क्रमित फेला परिरहेका छन् ।

दैनिक सङ्क्रमित फेला पर्न थालेपछि जहाँ सङ्क्रमित देखिएका छन् त्यही गएर नमूना सङ्कलनको कार्यलाई इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीव्रता दिएको छ । महाशाखाले पहिले उपत्यकामा समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर परीक्षण गरेकोमा अहिले जुन ठाउँमा सङ्क्रमित देखिएका छन् त्यहीँ ठाउँमा गएर नमूना सङ्कलन गरिने महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

उपत्यकामा अहिलेसम्म ५७३ जनामा सङ्क्रमण देखिएको छ । साउन १४ गते (बुधबार) २०, साउन १३ गते ५९ र साउन १२ गते ७ जनामा सङ्क्रमण देखिएको छ । नेपाली सेनामा ७९, नेपाल प्रहरी २०६ र सशस्त्र प्रहरीमा ९३ जनामा सङ्क्रमण देखिएको छ ।

यसअघि उपत्यकामा कोभिड–१९ को सङ्क्रमण समुदायमा छ वा छैन भनेर पाँच हजार जनामा परीक्षण गर्दा तीन जनामा मात्र सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार सङ्क्रमित भेटिएका ठाउँमा गई परीक्षणका लागि नमूना सङ्कलन गरिन थालेको उहाँले बताउनुभयो ।

“पहिले समुदायमा सङ्क्रमण छ भनेर भीडभाड हुने कार्यालयमा गएर परीक्षण गरेका थियांै, तर त्यतिबेला परीक्षण गर्दा न्यून मानिसमा सङ्क्रमण थियो”, उहाँले भन्नुभयो,‘‘अहिले परीक्षण गर्दा हामीले जुन ठाउँमा सङ्क्रमित फेला पर्दछन्, सोही ठाउँमा गएर कन्टयाक्ट ट्रेसिङ गरेर बढी भन्दा बढी सङ्क्रमितका नजिकमा मानिसको नमूना परीक्षणका लागि स्वाव सङ्कलन गर्न थालेका छौ ।”

महाशाखाले आज ज्ञानेश्वर र मैतीदेवी क्षेत्रका २०० जना र तिलगङ्गा आँखा अस्पतालका २० जना स्वास्थ्यकर्मीको नमूना सङ्कलन गर्न लागेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले तिलगङ्गामा उपचार गराउन आएका एक जना बिरामीमा सङ्क्रमण भेटिएपछि ती सङ्क्रमितको कन्टयाक्ट टे«सिङ गर्दा उक्त ठाउँका मानिसमा परीक्षणका लागि नमूना सङ्कलन गर्न थालिएको बताउनुभयो । बुधबार कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले सिंहदरबारभित्र फोहर सङ्कलन र चमेना गृहमा खटिने ५०८ जना कर्मचारीको नमूना सङ्कलन गरेको थियो ।

यस्तै शुक्रबार कालीमाटीस्थित तरकारी बजारमा तरकारी पसलमा काम गर्ने १०५ कर्मचारीको परीक्षणका लागि नमूना सङ्कलन गरिने छ ।

नमूना परीक्षणका लागि निवेदन

उपत्यकामा रहेको सरकारी र गैरसरकारी संस्थाले नमूना परीक्षणका लागि महाशाखामा निवेदन दिने गरेका छन् । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले २० भन्दा बढी सङ्घ संस्थाले आफ्ना कर्मचारीको नमूना परीक्षणका लागि निवेदन दिएको बताउनुभयो ।

उहाँका अनुसार सरकारी कार्यालय, बैंक, खेलकूद सङ्घ, उद्योग प्रतिष्ठानले परीक्षणका लागि निवेदन दिएका छन् । अहिले २९ प्रयोगशालाबाट तीन लाख ५८ हजार ३४४ जनाको नमूना परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा १९ हजार २७३ जना सङ्क्रमित रहेकोमा १४ हजार २१ जना पूर्ण रुपमा निको भइसकेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०३ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?