logo
२०८० चैत्र १५ बिहीवार



मुस्ताङमा यो वर्ष धेरै वर्षा, सडक अवरुद्ध हुँदा सम्पर्क रोकियो, ४८ परिवार विस्थापित

फिचर |
प्रदेश |


मुस्ताङमा यो वर्ष धेरै वर्षा, सडक अवरुद्ध हुँदा सम्पर्क रोकियो, ४८ परिवार विस्थापित
पहिरोले बगाएको घाँसा नजिकैको कुनाघाटको निर्माणधिन पुल ।


अमृतप्रसाद पौडेल
बेनी, साउन ६ गते । निकै कम वर्षा हुने भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष भने अत्यधिक भएकाे छ । वर्षाका कारण सडकहरू अवरुद्ध हुँदा अन्य जिल्लाबाट मुस्ताङ प्रवेशकाे सीधा सम्पर्क टुटेको छ । मुस्ताङ प्रवेशका लागि एक मात्र सडक मार्ग बेनी-जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएसँगै मुस्ताङ प्रवेश गर्ने र बाहिरिने मार्ग बन्द भएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार सडक यातायात म्याग्दीसँग जोडिएको अवस्थामा काभ्रेभिर, घोप्टेभिर, रुप्से झरनामा पहिरो र बाढीले सडक रोकिएसँगै मुस्ताङ प्रवेश गर्ने सबै मार्ग अवरुद्ध भएका हुन् । 'डोल्पा तथा मनाङबाट प्रवेश गर्ने मार्ग सहज नभएको मुस्ताङका लागि एक मात्र भरपर्दो माध्यम भनेकै सडक थियो । त्यो पनि रोकिएपछि अब सम्पर्क विच्छेदको अवस्था छ ।' प्रजिअ अर्यालले भन्नुभयो ।

बाढी पहिरोले गर्दा मुस्ताङको थासाङ गाउँपालिकाको २ र ४ नम्बर वडाका ४८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रजिअ अर्यालले बताउनुभयो । प्रजिअ अर्यालका अनुसार घाँसाका दुई घर र दुई गोठ पहिरोले पूर्ण रुपमा क्षति भएको छ । गोठ भत्किँदा एक गाई र एक भैँसी मरेको प्रजिअ अर्यालले बताउनुभयो । 'अहिलेसम्म मानवीय क्षति भएको छैन । भौतिक क्षति ठूलो मात्रामा भयो ।' अर्यालले भन्नुभयो ।

मुस्ताङका प्रदेश सभा सांसद चन्द्रमोहन गौचनका अनुसार विस्थापित हुनेलाई स्थानीय जनता आधारभूत विद्यालय र छिमेकीहरूको घरमा सुरक्षित तवरले राखिएको छ । कालीगण्डकी तथा अन्य खोलारूमा पनि पानीको बहाव बढेकोले जिल्लाका सुरक्षा निकायको टोलीसहित क्षतिको स्थलगत अनुगमन शुरु भएको नेकपा मुस्ताङका अध्यक्षसमेत रहुनभएका सांसद गौचनले बताउनुभयो ।

थासाङ गाउँपालिका, लेतेका स्थानीय बासिन्दा एवम् मुस्ताङका प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनका अनुसार घाँसा क्षेत्रको खानेपानी तथा विद्युत सेवा अवरुद्ध भएको छ । तुलाचनका अनुसार थासाङ–४ र ३ को सिमानामा पर्ने घैकु खोला बढेर सडक अवरुद्ध भएको छ । त्यस्तै, लेते खोला बढ्दा आवतजावतमा समेत समस्या भएको छ । साथै, बेनी-जोमसोम सडकको घाँसानजिकै कुनाघाटमा रहेको निर्माणाधीन पुल पहिरोले बगाएको छ । निर्माण सम्पन्न हुनै लागेको उक्त पुल पहिरोले बगाएको तुलाचनले बताउनुभयो । बेनी जोमसोम सडक खण्डको घोप्टेभिरमा सडकको बेससहित पहिरोले सडक बगाएको छ ।

त्यसै गरी, बेनी-जोमसोम सडकको म्याग्दी खण्डतर्फको मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पहिरोले पूरै बगाएको अन्नपुर्ण गाउँपालिका–३, दानाका स्थानीय इन्द्रसिंह सेरचनले बताउनुभयो । म्याग्दीबाट मुस्ताङ प्रवेश गर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका दानामा पर्ने रुप्से झरनाले पुल बगाउनुका साथै काभ्रेभिरमा पनि सडक अवरुद्ध भएपछि म्याग्दीबाट मुस्ताङ प्रवेश गर्ने रुट पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?