logo
२०८० चैत्र १६ शुक्रवार



म्याग्दी बाढीमा एक जना बेपत्ता, ट्रयाक्टर, बस, एक्स्काभेटर र झोलुङ्गे पुल बगायो

फिचर |


म्याग्दी बाढीमा एक जना बेपत्ता, ट्रयाक्टर, बस, एक्स्काभेटर र झोलुङ्गे पुल बगायो


अमृतप्रसाद पौडेल
बेनी, साउन ६ गते । पछिल्लो तीन दिनदेखिको अविरल वर्षाले म्याग्दीको जनजीवन प्रभावित बनेको छ । अन्नपुर्ण गाउँपालिका–३ काभ्रेका ६९ वर्षीय बलबहादुर गर्बुजा काभ्रेको ठाडो खोलाले बगाएर बेपत्ता हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डीएसपी किरणजङ्ग कुँवरका अनुसार गर्बुजा बाख्रा लिएर घरतर्फ फर्कँदै गर्दा खोलाले बगाएर कालीगण्डकीमा बेपत्ता हुनुभएकाे हो ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरनामा बाढी आउँदा पुल, होटलका साथै रोकिराखेको एउटा बस र एउटा एक्स्काभेटर बगाएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

कालीगण्डकी नदीमा बढेको बहावका कारण अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने गाडपारको झोलुङ्गेपुल बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी कुँवरले बताउनुभएको छ ।

त्यस्तै, रघुगङ्गा गाउँपालिका–३, चमेरेमा पार्किङ गरेर राखेको दुई वटा ट्रयाक्टर कालीगण्डकी नदीले बगाएको प्रहरीले जनाएको छ । मुस्ताङको दामाेदर कुण्ड हुँदै बहने कालीगण्डकी मुस्ताङतर्फबाट पनि बढेर आएको कारण थप क्षति हुनसक्ने हुँदा अन्नपूर्ण–२, भुरुङ–तातोपानीमा रहेको तटीय बस्तीका बासिन्दा र सीमा प्रहरी चौकीलाई पनि सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डीएसपी कुँवरले बताउनुभयो । बेनी–जोमसोम सडकखण्डअन्तर्गत दानास्थित पर्यटकीय रुप्से झरना पर्दछ ।

गएको असार २५ गते राति बेनी नगरपालिका–९, गलेश्वरस्थित राहुघाटखोलाको बाढी र कटानले बेलिब्रिज पूर्ण रुपमा क्षति पुर्याएपछि १२ दिनदेखि बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । विगत केही दिनदेखि परिरहेको लगतारको वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास गरिएको भए पनि वर्षाका कारण सफल हुन सकेको छैन ।

यसैबीच, अविरल वर्षाकै कारण सोमबारदेखि म्याग्दीखोलामा साविकभन्दा बहाव बढेको छ । म्याग्दीखोलाले ठूलो मात्रामा काठ, मुढा र दाउरा बगाएर ल्याएको छ । खोलाले काठ र दाउरा बगाएर ल्याएको भए पनि क्षति कुन स्थानमा भएको हो भनेर अझै खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । पश्चिम म्याग्दीको मुना, मुदी तथा गुर्जालगायत क्षेत्रमा वर्षा भइरहेको जानकारी आएको भएपनि कुन स्थानमा क्षति पुगेको हो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

अत्यधिक वर्षाले गर्दा म्याग्दी खोला, कालीगण्डकी नदी र राहुघाट खोलामा पानीको सतह बढेको डीएसपी कुँवरले बताउनुभयो । जिल्लाका तीन वटै खोलामा पानीको बहाव बढेको हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?