logo
२०८१ बैशाख ११ मंगलवार



दुई दिन खोज्दा पनि भेटिएन पहिराेमा बेपत्ता भएका ११ जना

फिचर |
समाज |


दुई दिन खोज्दा पनि भेटिएन पहिराेमा  बेपत्ता भएका ११ जना


ध्यान कुलुङ
सङ्खुवासभा, असार ३० गते । असार २७ गते राति सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा नाै घर पहिराले बगाउँदा ११ जना बेपत्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई दिनसम्म बेपत्ताहरूको खोजी गर्दा पनि भेटिएको छैन ।

केही दिनदेखि परेको भारी वर्षाका कारण गाउँमाथिबाट पहिरो गएपछि माने कुलुङ, सन्दिप कुलुङ, जुद्धबहादुर कुलुङ, गौरी राई, नगमाया, भिमबहादुर कुलुङ, शिवधन कुलुङ, हर्कधन राई र राममान कुलुङको घर पहिरोले बगाएको हो । उक्त घरसँगै राममान, हस्तीकुमारी, नम्रता, एञ्जिला, बिनिला, गोरीमाया, उत्तरकुमारी, जुद्धबहादुर, धनशङ्कर, आइतजिन र नजमाया कुलुङ बेपत्ता भएका हुन् ।

राति पहिरो गएपछि बिहान सिसुवाटार प्रहरी चौकी र ताम्कु प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल पुगेका थिए । बेपत्ताहरूको उद्धारको लागि जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा उद्धार टोली पठाइएको थियो । त्यस्तै, नयाँ रणभीम गुल्म ताम्कुबाट पनि नेपाली सेनाको उद्धार टोली घटनास्थलमा खटिएका छन् । ७० जनाको सुरक्षा टोलीले लगातार खोजी गर्दा पनि बेपत्ताहरू नभेटिएको घटना स्थलमा खटिनुभएका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । घर पुरिएको क्षेत्रमा खोजी गर्दा पनि बेपत्ताहरू नभेटिएकोले भेटिने सम्भावना न्यून रहेकोसमेत राईले बताउनुभयो ।


विस्थापितलाई सिसुवाटारमा सारियो, हेलिकप्टरबाट खाद्यान्न पुर्याइयो

बेसिन्दा गाउँलाई नै पहिरोले बगाएपछि विस्थापित भएका ८६ परिवारलाई सिसुवाटारमा सारिएको छ । घटनालगत्तै गाउँमाथिको चित्रे गाउँमा पुर्याइए पनि उक्त स्थान पनि असुरक्षित रहेको स्थानीयले गुनासो गरेपछि मङ्गलबार सिसुवाटारमा सारिएको हो ।
सिसुवाटारमा पुर्याइएकाहरूका लागि नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न सामग्री पुर्याइएकाे छ । प्रदेश सरकारको पहलमा सङ्घीय सांसद र प्रदेश सांसदहरूसहितको टोलीले सिसुवाटारमा खाद्यान्न सामग्री पुराएका हुन् । सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसमेतको टोली हेलिकप्टरमार्फत घटना स्थलतर्फ गएको भएपनि मौसम प्रतिकूलताका कारण अवतरण गर्न सकेको थिएन । प्रदेश सरकारले चामल दुइ हजार २५० किलोग्राम, दाल चार सय किलोग्राम, खाने तेल १२० ग्राम, नुन एक सय किलोग्राम, बिस्कुट ५३ थान, म्याटेस तीन रोल र त्रिपाल पाँच थान उपलब्ध गराएको हो ।

विस्थापितहरूलाई पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काको टोलीले पनि राहत सामग्री उपलब्ध गराउनुभएकाे छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत् चामल, खानेपानीको पाइप, नुन तेल लगायतका सामग्री घटनास्थलमा पुर्याइएको थियो । पर्यटन व्यवसायी मिङ्मा शेर्पाले चित्रेमा रहेको अशक्त पीडितहरूलाई सिसुवाटारमा हेलिकप्टरमार्फत् पुर्याउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?