logo
२०८१ बैशाख ८ शनिवार



पहिरोले पुरिएर तीनको मृत्यु, एक बेपत्ता, दुई घाइते

फिचर |
समाज |


पहिरोले पुरिएर तीनको मृत्यु, एक बेपत्ता, दुई घाइते


अर्जुन काफ्ले
स्याङ्जा, असार ३० गते । अविरल वर्षा सँगैको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका-४ खहरेमा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
लगातारको वर्षासँगै गएको पहिरो हेर्ने र खानेपानी मिलाउने क्रममा अर्को छेउबाट पहिरोले आएर पुरेको हो ।

पहिरोबाट मृत्यु हुनेमा ६५ वर्षीय इमानसिंह राना, ५० वर्षीय टीकाबहादुर थापा र ६० वर्षीय जीमानसिंह थापा रहनुभएको छ भने बेपत्ता हुनेमा ६० वर्षीय प्रेमचन्द्र पाण्डे रहेको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । मृत्यु भएका राना साबिक कालिगण्डकी गाविस अध्यक्ष रहनुभएको छ ।

पहिरोले वडा सदस्य ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरबहादुर राना घाइते हुनुभएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिनुभयो ।
पहिरो पुरेर घाइते दुवैको अवस्था गम्भीर रहेको छ भने घाइते दुवै जनालाई मिसन अस्पताल पाल्पामा उपचारको लागि लगिएको पाण्डेले जानकारी दिनुभयो ।

बिहान साढे ९ बजे पहिरोले तीन जना बेपत्ता भएकोमा स्थानीय, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र डोजरको सहयोगमा खोजी गरेपछि तीन जनाको शव फेला परेको हो भने एक जनाको खोजी भइरहेको छ ।

यस्तै, खहरे खोलाले बाढीसँगै धार परिवर्तन गरेर चार घर जोखिममा पर्दा विस्थापित भएका छन् । ५५ वर्षीय वीरबहादुर रानाको आठ जना, देव बहादुर थापाको चार जना, बेपत्ता जिमानसिङ थापाको छ जना र तिलीसरा थापाको पाँच जनाको परिवारलाई पहिलो चरणमा छिमेकीको घरमा स्थानान्तरण गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले पहिरो र खोलाले विस्थापितलाई एक-दुई दिनमा विद्यालय वा टहरा बनाएर स्थानान्तरण गर्ने बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?