logo
२०८० चैत्र १६ शुक्रवार



बैङ्कको शाखा अधिकृत भएको भन्दै १० लाख ठगी गर्ने दुई जना पक्राउ

प्रदेश |


बैङ्कको शाखा अधिकृत भएको भन्दै १० लाख ठगी गर्ने दुई जना पक्राउ


चाँदनी आचार्य
असार ३० गते । बैङ्कको शाखा अधिकृत भन्दै १० लाख ठगी गरेको आरोपमा कैलालीमा दुई जना पक्राउ परेका छन् । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीय पदमराज भट्ट र डोटीको आदर्श गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षिया सञ्जाकुमारी कठायत रोकाया पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार उनीहरूलाई डोटीको पिपल्लाबाट पक्राउ गरिएको हो । उनीहरूले कैलालीको टीकापुर नगरपालिकाकी ४४ वर्षीया महिलालाई आफुहरू नेपाल बैङ्क लिमिटेडको अधिकृत भएको भन्दै १० लाख ठगेको आरोप लागेको छ।

दश लाख दिएमा साढे तीन करोडको ऋण पास गरिदिन्छु भन्दै दुवै जनाले महिलालाई ठगेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो।

पीडित महिलालाई धनगढी उप–महानगरपालिका वडा नम्बर ५ मा घर भएको, बुवाको भूकम्पमा मृत्यु भएको, आफू नेपाल बैङ्क लिमिटेडको शाखा अधिकृत भएको भन्दै तीन करोड ५० लाखको ऋण दिलाइदिने आश्वासन दिएर १० लाख ठगी गरेको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो ।

उनीहरूको साथबाट नेपाल बैङ्क लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैङ्क तथा आईएमईका भौचरसमेत बरामद गरिएको जनाउदै ठगी अपराधमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थपसमेत गरिएको प्रहरीले बताएकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?