logo
२०८१ बैशाख १३ बिहीवार



कोराना जितेका वडा अध्यक्ष भन्नुहुन्छः “साधारण खाना, जडीबुटी र उच्च मनोबलले कोरोना जितेर घर फर्केको छु”

फिचर |
पढ्नै पर्ने |


कोराना जितेका वडा अध्यक्ष भन्नुहुन्छः “साधारण खाना, जडीबुटी र उच्च मनोबलले कोरोना जितेर घर फर्केको छु”


शिवराज ढुङ्गाना

अछाम, असार २८ गते । “साधारण खाना, जडिबुटी र उच्च मनोबलले कोरोना जितेर घर फर्केका छु ।” कोरोना जितेर घर फर्केका साँफेबगर नगरपालिका–११ देवीस्थानका वडा अध्यक्ष गणेशबहादुर खड्काले भन्नुभयो । “जडिबुटी घरबाट मगाएर पटकपटक तातोपानी मज्जाले खायौँ ।” कोरोना जितेपछि खड्काले आफ्नो अनुभव सुनाउनुभयो ।

कोरोना सङ्क्रमण परास्त गरेर घर फर्केका वडा अध्यक्ष आइसोलेसनमा रहँदा गुर्जो, दाल चिनी, टिमुर, अदुवा कुटेर पानीमा उमालेर खाएको सम्झनुहुन्छ । “स्कुलको कोठामा रहेको आइसोलेसनमा आफैँ साधारण खाना पकाएर खायौँ, तातोपानीसँग जडिबुटी खाएर कोरोना जित्यौँ ।” वडा अध्यक्ष खड्काले भन्नुभयो । अध्यक्ष खड्कासँगैको कोठामा सोही वडाका स्वास्थ्य चौकीका ल्याब टेक्निसियनसमेत कोरोना जितेर घर फर्कनुभएको छ ।

कोरोनाको स्वाब सङ्कलन गरेदेखि एक्लै बस्न थालेकाले आइसोलेसनका १४ दिन जोड्दा २२ दिन अलग्गै बसेको अध्यक्ष खड्काको भनाइ छ । वडामै रहेको विद्यालयको आइसोलेसनमा बस्नुभएका वडा अध्यक्ष घर फर्केर एक हप्ता अलग्गै बस्ने भनाइ छ । “कोरोनाको केही लक्षण नभए पनि घरपरिवारबाट केही दिन अलग हुन्छु ।” वडा अध्यक्ष खड्काको भनाइ छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि बिना लक्षण पुनः परीक्षण हुने नभएकोले घर फर्केको व्यक्तिले कम्तीमा एक हप्ता घरमा अलग बस्नुपर्ने प्रावधान रहेको छ ।

जडीबुटी, साधारण खाना, तातोपानी खाएर उच्च मनोबल भएमा कोरोना जित्ने सक्ने अनुभव भएको अध्यक्ष खड्का सुनाउनुहुन्छ । सरकारका निकायबाट जारी गरिएका प्रावधान पालना गर्न, सजग र सुरक्षित रहन वडा अध्यक्ष खड्काको आग्रह छ । भारतबाट घर फर्केका व्यक्तिहरूको व्यवस्थापनमा खटिएका वडा अध्यक्ष खड्कालाई पीसीआर परीक्षणको क्रममा असार ५ गते थ्रोट स्वाब सङ्कलन गरिएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएका कुनै व्यक्तिमा लक्षण देखा नपरेमा आइसोलेसनबाट १४ दिनमा घर पठाउन प्रावधान बमोजिम फ्लोअप परीक्षण बिना नै घर पठाइने गरिएको छ ।

 वडा अध्यक्ष, देवीस्थान स्वास्थ्य चौकीका ल्याब टेक्निसियन लगायत उक्त वडाका १६ जना कोरोना जितेर शनिबार घर फर्केका बताइएको छ । अछाममा हालसम्म ७०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १८० जना कोरोना जितेर घर फर्किसकेका छन् ।

(नाेटः वडा अध्यक्ष खड्काकाे अनुमतिमा उहाँकाे नाम र तस्बिर सर्वजनिक गरिएकाे हाे । सम्पादक)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?