logo
२०८१ बैशाख ५ बुधवार



बाग्मती नदीले बाँध भत्कायो, खेत कटान गर्न थालेपछि किसान चिन्तित

फिचर |
समाज |


बाग्मती नदीले बाँध भत्कायो, खेत कटान गर्न थालेपछि किसान चिन्तित
सर्लाहीको हजरियामा बाग्मती नदीले गरेको कटान । तस्बिर-जनार्जन खत्री


जनार्जन खत्री
सर्लाही, असार २७ गते । सर्लाहीको बरहथवा नगरपालिका–१, हजरिया खर्सालघाटमा बाग्मती नदीले बाँध भत्काएर खेत कटान गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका छन् ।
लगातारको वर्षापछि बाग्मती नदीमा आएको बाढीले खर्सालघाटमा भर्खरै कसिएको बाँध, तारजाली र तटबन्ध सबै बगाएको छ । प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको निर्वाचन क्षेत्र विकास कोषको २५ लाख रुपियाँबाट बाँध, बरहथवा नगरपालिकाको १५ लाख रुपियाँले डाइभर्सन र नदी नियन्त्रण कार्यालय परवानीपुर, बाराको तर्फबाट केही रकम खर्च गरी तारजाली कस्ने काम भएको थियो ।

शनिबार बिहानसम्म ती सबै संरचना नदीमा बाढीले बगाएर उखु, धान र मकै बाली लगाएको खेतीयोग्य जमिन कटान गरिरहेको बरहथवा नगरपालिका–२, का मिलनकुमार राउतले जानकारी दिनुभयो । उहाँका अनुसार नदीमा पानीको बहाव बढ्दै जाँदा बरहथवा नगरपालिकाको वडा नं. १, ३, ४, १४ र १५ का बस्तीहरूसमेत जोखिममा परेका छन् ।
नदीले तीव्र रुपमा कटान गरिरहे पनि जनप्रतिनिधिहरूले चासो नदिएको भन्दै स्थानीय किसानहरू आक्रोशित बनेका छन् । बरहथवा नगरपालिका–१, का वडाध्यक्ष रत्नबहादुर गिरीले नदीमा पानीको बहाव बढ्दा खर्सालघाट क्षेत्रमा हरेक वर्ष यस्तो समस्या आउने गरेको बताउनुभयो ।

वर्षा हुनेक्रम बढेसँगै सर्लाहीमा पानीको उचित निकास नरहेका होचा भागहरू डुबानमा परेका छन् । हरेक वर्ष डुबानको चपेटामा पर्ने सदरमुकाम मलङ्गवास्थित भाडसर क्षेत्रमा यो वर्ष पनि डुबानको समस्या सुरु भएको छ । वर्षौंदेखि जीर्ण रहेका जिल्लाको पूर्व–पश्चिम हुलाकी राजमार्गसहित भित्री ग्रामीण सडकहरू लगातारको वर्षाले हिलाम्मे र जलमग्न भएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पानीको निकास नरहेका र खेतपाती हुने ठूला फाँटहरूमा पानी जमेको भएपनि ठूलो किसिमको कटान तथा डुबानको समस्या नरहेको बताउनुभयो । जिल्लामा बाग्मती नदीमा पानीको बहाव धेरै भएपनि लखन्देही, फूल्जोर, कालिन्जोर, मनुष्मारा, सफाहा, बाँके जस्ता खोलामा बाढीको अवस्था सामान्य नै छ ।

सँधै हिँड्डुल गर्ने खोलामा बाढी आइरहँदा चुरेभेगमा पर्ने नारायणखोला, परवानीपुर, कालिन्जोर लगायत क्षेत्रका केही बस्तीमा भने आवातजावत ठप्प भएको छ । खोलामा पुल नभएका ठाउँहरूमा एक गाउँबाट अर्को गाउँसम्म ओहोरदोहार गर्न समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?