logo
२०८० चैत्र १६ शुक्रवार



जताततै पहिरोको जोखिम, पानी पर्नासाथ रातभर जाग्राम

फिचर |
प्रदेश |


जताततै पहिरोको जोखिम,  पानी पर्नासाथ रातभर जाग्राम


बाबुराम देवकोटा
सिन्धुलीमाढी, असार २५ गते । आकाशमा कालो बादल मडारिनासाथ आधीसाराका सबै स्थानीयको होस गुम हुने गरेको छ । गोलान्जोर गाउपालिका–७ आधीसारामा पहिरोका कारण झण्डै एक दर्जन घर पहिरोको जोखिममा रहेको स्थानीय बासिन्दा बताउँछन् ।

वडाध्यक्ष सुवास देवकोटा आधीसारामा २०७२ सालको भूकम्पपछि गएको पहिरोका कारण पाँच घरलाई अन्यत्र सारेको र अझै एक दर्जनजति घर पहिरोकै जोखिममा रहेको बताउनुहुन्छ । ‘पहिलो त्यस्तो त्रासको अवस्था थिएन । बस्तीमाथि रहेको जङ्गल उनीहरूले नै मासे । भूकम्प आयो, जमिन हल्लिएपछि पहिरो जना सुरु गर्यो,’ उहाँले भन्नुभयो ।

भएकाहरू मुसलधारे पानी पर्नासाथ रातभर जाग्राम बस्नुपर्ने स्थानीय पाण्डव श्रेष्ठको भनाइ छ । ‘पहिरो एकातिरबाट झारेको छ, अर्कोतर्फ भूकम्पले पुरै धाँजा फाटेको छ,’ उहाँले भन्नुभयो, ‘अन्त जाने ठाउँ नभएपछि रामनाम जपेर बस्नुको विकल्प नै के छ र ? भएको थातथलोलाई एकै पटक छोडेर हिड्ने अवस्था छैन ।’ सरकारले जोखिम भएका स्थानमा विषेशज्ञ खटाएर स्थानीयलाई हट्न अथवा ढुक्क भएर बस्ने वातावरण बनाइदिनुपर्ने उहाँको तर्क छ ।

मरिण गाउँपालिकास्थित कात्तिके खलङ्गामा झण्डै एक किलोमिटर क्षेत्रमा भूकम्पले धाँजा फाटेको छ । डाँडामा धाजा फाटेकाले पूरै बस्ती नै बग्ने हो कि भन्नेमा स्थानीय चिन्तित छन् । स्थानीय मानबहादुर सिञ्जालीको घरको बीच भागबाट धाँजा फाटेको छ । घरको बीचबाट नै जमिन चिरिएकाले रातमा निन्द्रा पर्न छोडेको उहाँले गुनासो पोख्नुभयो ।

मरिण गाउँपालिकाका प्रमुख पानीराज बम्जन बर्षादको मौसमसँगै पहिरोको जोखिम बढेको बताउनुहुनछ । उहाँले भन्नुभयो, ‘सम्भाव्यता अध्ययन नै नगरी जथाभावी खनिएका ट्रयाक सडक र वैज्ञानिक वनका नाममा भएको वन विनाशले पहिरोको जोखिम बढाएको छ ।’
उहाँका अनुसार वडा नं. ३, ४ र ५ मा वैज्ञानिक वनका नाममा जथाभावी भएको फँडानीले अझ बढी भू–क्षय निम्त्याएको छ । वैज्ञानिक वनको सिद्धान्तअनुसार ८० वर्ष पूरा भएको रुख वन क्षेत्रबाट हटाउने भन्छ । ‘तर यहाँ त वन कार्यालय, स्थानीय सामुदायिक वन समितिका केही व्यक्ति र काठ व्यवसायीको मिलेमतोमा जथाभावी नै वन विनाश भएको छ,’ उहाँले भन्नुभयो, ‘मैले त्यो विषयमा सङ्घीय वन मन्त्री र डिभिजन वन कार्यालयको प्रमुखसँग पनि कुरा गरेँ, तर सुनुवाई भएको छैन । जसका कारण बर्षादको मौसममा पहिरोको त्रासदी बढेको छ ।’
महाभारत उत्तरतर्फका दर्जन भन्दा बढी ठाँउहरू पहिरोको जोखिममा छन् ।

मझुवा, पुरानो झाँगाझोली, नेत्रकाली, बस्तीपुर, तामाजोर, कुशेश्वर दुम्जा, हरिहरपुरगढी, बाशेश्वर, भुवनेश्वरी, बितिजोर, डुडभन्ज्याङ, खाङसाङ, रत्नावती, पोखरी, कपिलाकोट लगायतका ठाउँ पहिरोको उच्च जोखिममा रहेको जिल्ला समन्वय समितिको तथ्याङ्कमा उल्लेख छ ।

समन्वय समितिका प्रमुख शङ्करराज बर्मा तिवारी पनि सिन्धुली जिल्ला पहाडी भूभाग भढी भएको जिल्ला भएकोले हरेक वर्ष बर्षादको मौसममा पहिरोको त्रास हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘जेसीभी र एस्काभेटरमार्फत ट्रयाक सडक खनिएकाले पहिरोको जोखिम बढेको हो । घ्याङलेख गयो पहिरोले नै सडक अवरुद्ध छ । फिक्कल गयो पहिरोले नै सडक अवरुद्ध छ । जताततै समस्या छ ।’

वातावरण क्षेत्रमा काम गर्दै आउनुभएका सिन्धुलीका पत्रकार कृष्णहरि घिमिरेका अनुसार केही वर्ष पहिले संसदीय अनुगमन समितिले समेत जिल्लाको दर्जन बढी स्थानहरू जोखिममा रहेको प्रतिवेदन बुझाएको थियो । तर ती स्थानमा चेकजाँच गरेर बस्ती सार्ने काम हुन सकेको छैन । विशेषज्ञ टोली झिकाएर पहिरोको जोखिममा परेकाहरूलाई बेलैमा सार्न नसके ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्ने उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिकाको पनि ढुङ्ग्रेभन्ज्याङ र केवरेको पहिरोको कारण सदरमुकाम सिन्धुलीमाढीसमेत खतरामा रहेको छ । २०४१ र २०५० सालमा आएको बाढी पसेको स्थानमा समेत बस्ती रहेकाले खतरा भएको हो । ‘ठूलो पानी पर्नासाथ डराउनुपर्ने अवस्था छ’, ढुङग्रेबास बजार निवासी सन्तोष दाहालले भन्नुभयो, ‘ती पहिरो पुनः खसेर ठुलो बाढी आउन सक्छ, खोला किनारमा रहेका बस्तीलाई बेलैमा सार्नुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?