logo
२०८१ बैशाख १२ बुधवार



बाढीको सम्भावित जोखिमबाट बच्न नदी क्षेत्रमा उच्च सतर्कता

फिचर |
प्रदेश |


बाढीको सम्भावित जोखिमबाट बच्न नदी क्षेत्रमा उच्च सतर्कता


धीरेन्द्रप्रसाद साह
राजविराज, असार २५ गते । जिल्ला सङ्कट व्यवस्थापन समिति सम्भावित बाढीको जोखिमबाट क्षति हुन नदीन पूर्वतयारीसाथ सतर्क अवस्थामा रहेकाे जानकारी दिइएकाे छ ।
समितिको बैठकले बाढी आएपछि हुनसक्ने अवस्थाको अनुमान गरी सम्बद्ध समूह (कलस्टर)हरूलाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभाग (बाढी पूर्वानुमान महाशाखा)ले चार दिन (२६–२९ गते सम्म) भारी वर्षा भई नदीहरूको बहाव खतरा तहसम्म पुग्नसक्ने बुलेटिन जारी गरेपछि सप्तरीको जिल्ला सङ्कट व्यवस्थापन समितिले यसको तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
समितिले बाढीबाट जोगिन र जोगाउन नदी आसपास क्षेत्रका बस्तीवासीहरूलाई सतर्क रहन, उद्धार तथा राहत तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीसहित सम्बन्धित क्लस्टरहरूलाई उचित स्थानको पहिचान, सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन निर्देशन भइसकेको उहाँले बताउनुभयो ।
जिल्लाको खाँडो, कोसी, महुली, जिता, त्रियुगा, खडक, सुन्दरी, बलान लगायतको नदीहरूमा बाढीको उच्च बहाव रहने अनुमान गरिएको जानकारी दिँदै उहाँले ती क्षेत्रमा बाढीको कारण आउनसक्ने सङ्कट, उद्धार तथा व्यवस्थापनको लागि तालिम प्राप्त नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, सरकारी निकाय, गैरसरकारी संस्थासहित सरोकारबालाहरूलाई तयारी अवस्थामा बस्न आग्रहसाथ निर्देशन गरेको प्रवक्ता घिमिरेले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै बिहीबारदेखि मनसुन सक्रिय भएको जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाबाट सूचना प्राप्त भएको भन्दै २६ गते शुक्रबारदेखि २९ गते सोमबारसम्म चार दिन जिल्लाका मुख्य तथा सहायक नदीहरूमा खतरायुक्त बाढीको उच्च बहाव रहने हुँदा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह पनि गरिएको छ । सो अवधिभर नदीको तटीय क्षेत्रमा निर्माण कार्य नगर्न, नदी किनारमा नजान, र आवश्यक सतर्कता कायम गर्न सूचनामा उल्लेख गरिएको छ ।
चुरे क्षेत्रदेखि तराईसम्म बग्ने खाँडो, महुली, जिता, त्रियुगा, कोसी नदीहरूमा आउने बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, रुपनी गाउँपालिका, राजविराज नगरपालिका, मुख्य रुपमा प्रभावित हुने गरेको छ । यस्तै अन्य नदीहरूको बाढीले जिल्लाका विभिन्न स्थानीय तहका दुई दर्जनभन्दा बढी गाउँबस्ती बर्सेनि डुबानमा पर्ने गरेको रेडक्रस सप्तरी सभापति जोगेन्द्र भगतले बताउनुभयो । बाढीले धानबाली, मानवीय क्षति गर्नुको साथै हजारौँ बिगाह खेतीयोग्य जग्गा बालुवाले पुर्ने, कटान गर्ने गरेको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?