logo
२०८१ बैशाख १२ बुधवार



विगत २४ घण्टामा बाढीपहिरोसहित विपद्का १७ घटना, एकको मृत्यु

फिचर |


विगत २४ घण्टामा बाढीपहिरोसहित  विपद्का १७ घटना, एकको मृत्यु
फाइल तस्बिर


चाँदनी हमाल
काठमाडौँ, असार २४ गते । विगत २४ घण्टामा बाढी, पहिरो, डुबान सहित १७ वटा विपद्का घटना भएका छन् । जसका कारण एक जनाको मृत्यु भएको छ । दुई बेपत्ता छन् । एक जना घाइते भएका छन् । जसमध्ये सबैभन्दा धेरै छ स्थानमा पहिरोको घटना भएको छ । पहिरोमा परी सङ्खुवासभामा एक जना घाइते भएका छन् । सर्पदंशका कारण महोत्तरीमा एक जनाको मृत्यु भएको हो ।
त्यस्तै, चितवनको भरतपुरका एक जनालाई दाउरा लिन जाँदा नारायणी नदीले बगाएर बेपत्ता बनाएको छ । त्यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिकामा बाढीले बगाएर एक जना बेपत्ता रहेको राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । रुकुमको मुसीकोटमा पहिरोले एक घर भत्काएपछि एक परिवारको बिचल्ली भएको छ ।
त्यस्तै प्यूठानकै मल्लरानी गाउँपालिकाका वर्षाले एक घर भत्काएपछि परिवार विस्थापित बनेका छन् । बर्दियाको राजापुरमा १३ घर डुबानमा परेका छन् । सुर्खेतमा एक घर वर्षाले भत्काएको छ ।
यसैबीच, पहिरोका कारण विभिन्न क्षेत्रका सडक अवरुद्ध रहेको छ । प्यूठानको सरुमारानी गाउँपालिका-४ को खहरे खोलामा पहिरो जाँदा भालुवाङ-प्यूठान सडकखण्ड अवरुद्ध छ । त्यस्तै पाल्पा तानसेनको सोमबारीमा पहिरो जाँदा तानसेन-रिडी सडकखण्ड अवरुद्ध बनेको छ । मुस्ताङको चेतनडाँडामा पहिरो जाँदा बेनी जोमसोम सडक अवरुद्ध बनेको छ । पहिरोका कारण अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको छ ।
काठमाडौँ, मोरङ लगायत केही स्थानमा आगलागीका घटना पनि भएका छन् ।
विभिन्न विपद्का कारण विगत २४ घण्टामा नौ लाख ६१ हजार पाँच सय रुपियाँ बराबरको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?