logo
२०८० चैत्र १६ शुक्रवार



उत्तरी मोजाम्बिकमा ग्यास परियोजनाका कामदारमाथि गोली प्रहार, आठको मृत्यु

अन्तर्राष्ट्रिय |


उत्तरी मोजाम्बिकमा ग्यास परियोजनाका कामदारमाथि गोली प्रहार, आठको मृत्यु
तस्विर–फाइल


मापुतो, असार २२ गते।
मोजाम्बिकको उत्तरी क्षेत्रस्थित एक निजी ग्यास परियोजनामा कार्यरत मजदुरमाथि बन्धुकधारीले गोली प्रहार गरी हत्या गरिदिएका छन् । कम्पनीका अनुसार बाटो ढुकेर बसेका बन्धुकधारीले गोली चलाउँदा कम्पनीमा कार्यरत आठ मजदुरको ज्यान गएको छ ।
उत्तरी मोजाम्बिकमा सन् २०१७ देखि जिहादी विद्रोह जारी छ । यस विद्रोहका कारण उक्त क्षेत्रमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । विद्रोहका कारण तेल उत्खननका कार्यमा पनि असर परेको छ । तर प्राकृतिक ग्यास (एनएलजी) का परियोजनामा कार्यरत मजदुरमाथिको आक्रमण भने तुलनात्मक रुपमा कम हुने गरेको अधिकारीहरूले बताएका छन् ।
फ्रान्सेली तेल उत्पादक टोटलले नियुक्त गरेको फेनिक्स कन्ट्रक्सन सर्भिसले गत महिना आफ्नो कम्पनीमा कार्यरत मजदुरहरू चढेको सवारी साधनमाथि मोजाम्बिकको सेनाको पोसाकमा आएका पाँच जना बन्धुकधारीले गोली चलाउँदा केही मजदुर घाइते भएका र तीन जना अझै बेपत्ता रहेको बताएको छ ।
संयुक्तराष्ट्र सङ्घले गत मे महिनामा सार्वजनिक गरेको अनुमान अनुसार विद्रोही समूहको आक्रमणबाट विस्थापित हुनेको सङ्ख्या दुई लाख १० हजार पुगिसकेको छ । तर पछिल्लो समयमा निरन्तर जारी आक्रमणका कारण विस्थापितको सङ्ख्या दुई लाख ५० हजार नाघेको स्थानीय सहायता निकायहरूले बताएका छन् । मोजाम्बिकको उत्तरी क्षेत्रमा आक्रमणहरू भइरहे पनि टोटलले २३ अर्ब डलरको ग्यास परियोजनालाई निरन्तरता दिने बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?