logo
२०८१ बैशाख ४ मंगलवार



कर्णालीमा शनिबार २१४ निको भए, कुल ९३४ जना डिस्चार्ज

फिचर |
प्रदेश |


कर्णालीमा शनिबार २१४ निको भए, कुल ९३४ जना डिस्चार्ज


ललित बसेल
सुर्खेत, असार १३ गते । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणको दर बढ्दैजाँदा निको हुनेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । शनिबारसम्म करिब एक हजार जना कोरोना मुक्त भएर घर फिर्ता भएका छन् । गत जेठ ५ गतेदेखि कर्णालीमा कोरोना सङ्क्रमण सुरु भएको थियो भने जेठ २३ गतेदेखि निको भएकाहरू घर फर्कन थालेका थिए ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार शनिबारसम्म रोगबाट निको भएर घर फर्कनेहरूको सङ्ख्या ९३४ पुगेको छ । रोगबाट निको हुनेको सङ्ख्या पनि दिनदिनै बढेको छ । महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार शनिबार मात्रै २१४ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । दैलेखको नौमुले आइसोलेसनबाट १३२ जना, दैलेखकै डुङ्गेश्वर आइसोलेसनबाट ६३ जना, दैलेख अस्पतालबाट नौ जना, सुर्खेतका विभिन्न आइसोलेशनबाट आठ जना र रुकुम पश्चिम अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् ।

थप सात सङ्क्रमित
यसैगरी, कर्णालीमा शनिबार थप सात जना कोरोना सङ्क्रमित थप भएका छन् । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सातै जना सुर्खेत जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सात जनामा १५ महिने शिशुदेखि ४७ वर्ष उमेरसम्मका छन् । ती सबै पञ्चपुरी नगरपालिकाका हुन् । थप सात जनासहित कर्णालीमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४४० पुगेको छ ।

कर्णालीमा सबैभन्दा धेरै दैलेखमा सङ्क्रमित रहेका छन् । दैलेखमा ७६० जना, सुर्खेतमा ३४७ जना, सल्यानमा १७७ जना र कालीकोटमा ४७ जनामा कोरोना सङ्क्रमित रहेका छन् । जुम्लामा ३०, जाजरकोटमा १३, मुगुमा तीन, हुम्लामा दुई र डोल्पा तथा पश्चिम रुकुममा एक/एक जना सङ्क्रमित रहेको महाशाखाले जनाएको छ । अन्य प्रदेशका ५९ जना छन् । कोरोनाबाट कर्णालीमा अहिलेसम्म छ जनाको मृत्यु भएको छ । दैलेखका तीन, सुर्खेतका दुई र डोल्पाका एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?