logo
२०८१ बैशाख १३ बिहीवार



ढलको पानी परीक्षणबाट कोरोना फैलिएको पत्ता लगाउन सकिने नेपाली वैज्ञानिकको अध्ययन

फिचर |
बिज्ञान |


ढलको पानी परीक्षणबाट कोरोना फैलिएको पत्ता लगाउन सकिने नेपाली वैज्ञानिकको अध्ययन


दीपक श्रेष्ठ
काठमाडौँ, असार १२ गते । ढलको पानीमा कोभिड–१९ को विषाणु सार्स (कोभ–२) फेला परेको छ । जापानको यामानासी विश्वविद्यालयमा गरिएको अनुसन्धानमा कोभिड़–१९ रोगको विषाणु सार्स (कोभ–२) फेला परेको दावी गरिएको छ ।
यामानासी विश्वविद्यालयमा सो अध्ययनमा संलग्न डा.ओसन थकालीका अनुसार, कोभिड–१९ सङ्क्रमितको (चाहे लक्षण देखाउने होस् या नदेखाउने) दिसा र पिसाबमा विषाणु सार्स (कोभ–२) पाइएको छ । सो अध्ययन अनुसन्धानमा प्रा. डा. ऐजी हारामोतो, डा. विकास मल्ल, डा. ओशन थकाली र होक्काइडो विश्वविद्यालयका उप–प्राध्यापक डा. मासाकी किताजिमा संलग्न हुनुहुन्थ्यो । सो अनुसन्धान हालै विश्व प्रख्यात जर्नल साइन्स अफ द टोटल इनभाइरन्मेन्टमा प्रकाशित भएको डा.ओसन थकालीले जानकारी दिनुभयो ।
डा. थकालीका अनुसार, ढलको पानीमा कोरोनाको आरएनए पाइए पनि कोरोना लामो समय जीवित रहन नसक्ने र कोरोना पानीमा कम मात्रामा हुनाले पानीबाट सर्न सक्ने कमै सम्भावना हुन्छ । यद्यपि, ढल प्रशोधन केन्द्रमा काम गर्नेहरूले सतर्कता अपनाउन पर्ने जनाइएको छ । यसरी ढलमा विषाणुहरू अध्ययन गरेर त्यस समुदायमा सो विषाणुले सार्ने रोग कति फैलिएको छ भनेर आङ्कलन गर्न मद्दत पुग्छ । यस्तो किसिमको अध्ययनलाई वेस्ट वाटर बेस्ड ऐपिडेमीयोलोजी भनिन्छ ।
कोभिड–१९ का सङ्क्रमितमा प्रायः लक्षण नदेखाउने भएकाले अस्पताल नजाने र त्यस्ता ठाउँमा महामारी नभएको अनुमान लगाउने गरिएको छ । त्यसैले ढलको पानीमा सार्स (कोभ–२) को आरएनए परीक्षण गरी कुन कुन स्थानमा कोभिड–१९ फैलिएको छ भनेर पत्ता लगाउन सकिने डा. थकालीले जानकारी दिनुभयो । क्लिनिकल स्वाबसँंगै ढलको पानीमा अनुसन्धान गरेर यस महामारी रोक्न थप मद्दत पुग्ने सुझाव डा. थकालीको छ । कोभिड–१९ मात्र नभई अन्य रोगको यसै विधिबाट छानबिन गर्न सकिने विज्ञहरूको धारणा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?